काठमाडौं । सामाजिक न्याय, सुशासन र नागरिक सचेतनाको प्रवर्द्धनमा खोज पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ । ओझेलमा परेका यथार्थ, उत्पीडित समुदायका वेदना तथा सीमान्तकृत नागरिकका आवाजलाई तथ्य र प्रमाणका आधारमा निर्भीकतापूर्वक सार्वजनिक गर्दै खोज पत्रकारिताको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप कोरिया शैक्षिक परामर्श संघ नेपाल (केकान) ले शर्मालाई उक्त सम्मान प्रदान गरेको हो ।
संस्थाले उनको वैचारिक स्पष्टता, व्यावसायिक निष्ठा र सार्वजनिक उत्तरदायित्वप्रतिको समर्पणलाई सम्मानको प्रमुख आधार मानेको जनाएको छ ।
को हुन सम्मानित शर्मा ?
गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस–६ (हाल गण्डकी गाउँपालिका–५) मा वि.सं. २०४० साल कार्तिक १५ गते जन्मिएका शर्माले सामान्य ग्रामीण परिवेशबाट संघर्षपूर्ण जीवनयात्रा प्रारम्भ गरेका थिए । पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालका जेष्ठ सुपुत्र शर्माले विपरीत परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै पत्रकारितालाई जीवनको कर्मक्षेत्र बनाए । वि.सं. २०६१ वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएपछि उनले पोखरा एफएम ९५.८ मेगाहर्जबाट प्रसारित ‘लोक सुसेली’ र ‘पल प्रति पल’ कार्यक्रममार्फत सञ्चार यात्राको थालनी गरेका थिए ।
त्यसयता रेडियो, छापा र अनलाइन माध्यमबाट जनसरोकारका विविध विषयमा कलम चलाउँदै उनले खोज पत्रकारितामा आफ्नो छुट्टै पहिचान निर्माण गरेका छन् । नेसनल अफ्लिमेन्ट, न्युजलाइन्स नेपाल डटकम पाक्षिक, डिजिटल खबर हुदै अनुसन्धानमूलक समाचार, विशेष रिपोर्ट र फिचरहरू स्थानीय सरोकार, जनसवाल राष्ट्रिय दैनिक तथा मध्यान्ह दैनिक लगायतका सञ्चारमाध्यममा बिशेश लेख प्रकाशित हुँदै आएका छन् ।
सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक विकृति र अवैध कारोबारजस्ता विषयमा उनले तयार पारेका सामग्रीले सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब सिर्जना गर्नुका साथै समाजमा सकारात्मक बहसको वातावरण निर्माण गरेको छ ।
हाल स्थानीय सरोकार पत्रिका तथा निगरानी दैनिक डटकम सञ्चालन गरिरहेका शर्माले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य, सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले खोज पत्रकारिता सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिने दायित्वपूर्ण अभ्यास भएको बताए। उनले भने, “सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा चुनौती र जोखिमले भरिएको हुन्छ ।” खोज पत्रकारिताको क्रममा आर्थिक अभाव, दबाब, भौतिक धम्की र मानसिक तनावसमेत झेल्नुपरेको अनुभव सुनाउँदै उनले कठिनाइका बाबजुद सत्यको खोजलाई अविराम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सम्मान प्रदान गर्दै आयोजक संस्थाले शर्माको निर्भीकता, तथ्यमा आधारित अनुसन्धान, निष्पक्ष रिपोर्टिङ र सामाजिक उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धता अनुकरणीय रहेको उल्लेख गरेको छ । संस्थाका अनुसार उनको योगदानले भावी पुस्ताका पत्रकारलाई सत्यनिष्ठ, साहसी र अनुसन्धानमुखी पत्रकारिताप्रति आकर्षित गर्दै व्यावसायिक इमान्दारिताको मार्गमा प्रेरित गर्ने विश्वास गरिएको छ ।

