काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनमा छलफल स्वस्थ बनाउन र सडकमा तमासा नबनाउन आग्रह गरेका छन् ।
चितवनमा जारी पहिलो महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र मतभेद वा समस्या आउनु स्वाभाविक भए पनि त्यसलाई समाधान गर्ने क्षमताले नै दललाई परिपक्व बनाउने बताए।
पार्टीभित्रका कुनै पनि असन्तुष्टि र मनमुटाबलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्ने भन्दै उनले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई निर्देशन दिए ।
‘हामी परिपक्वतातर्फ अघि बढेको राजनीतिक दल हुनाले हामी बीचमा भएका केही पनि मनमुटाव छन्, कुनै पनि जिज्ञासा छन् र प्रश्न छन् भने तिनलाई कोठा भित्र बसेर छलफल गरेर टुङ्ग्याउनु पर्छ। न कि सडकको तमासा बनाउने हो। हाम्रा बीचका मतभेदहरूलाई समाधान गरी पार्टीलाई स्वस्थ र स्वच्छ बनाउनु नै हुनेछ। त्यसलाई कुनै तमासाको रूपमा सडकमा वा मैदानमा लिएर जाने काम गर्नुहुनेछैन’ उनले भने।
