धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. ८ मा कृषि तथा पशुजन्य उपजको संकलन, ढुवानी तथा बजारीकरणलाई सहज बनाउने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत नगरपालिका क्षेत्रभित्र उत्पादन हुने कृषि तथा पशु उपज संकलन गरी कृषक बजारमार्फत नियमित बिक्री–वितरण गर्ने लक्ष्यसहित एक गाडी र एक स्कुटर खरिद गरिएको हो ।
कृषि एम्बुलेन्स सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन हेफर नेपाल र एक्सन नेपालको सहयोग तथा सहकारीका शेयर सदस्यहरूको योगदान रहेको बताइएको छ । प्राप्त बजेट र सदस्यहरूको सहभागिताबाट सवारी साधन खरिद गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
कृषि एम्बुलेन्सको शुभारम्भ तथा पूजा कार्यक्रममा नीलकण्ठ नगरपालिकाका शासन विज्ञ दिपक कोइराला, आँकुरा कृषि तथा पशुपन्छी सहकारीका अध्यक्ष शम्भु श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, आँकुरा कृषि तथा पशुपन्छि सहकारीका सचिव विष्णुहरि लम्साल, किसान एग्रोभेटका सञ्चालक कृष्ण कोईराला लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले कृषकको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि र पशुपालनलाई आयआर्जनको भरपर्दो आधारका रूपमा विकास गर्न स्थानीय तह, सहकारी र कृषकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । कृषकले उत्पादन गरेका तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजको बजारीकरणमा देखिने समस्या समाधान गर्न यस सेवाले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
सहकारीका सचिव विष्णुहरि लम्सालले कृषि एम्बुलेन्स सञ्चालनसम्म आइपुग्न धेरै वर्षको मेहनत, निरन्तर प्रयास र सबै पक्षको सहकार्य रहेको बताउनुभयो । “यो सेवा सञ्चालनमा ल्याउन हामीले धेरै चुनौतीहरू पार गरेका छौं। आजको सफलता कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण सदस्य, कृषक, सहयोगी संस्था र समुदायको साझा उपलब्धि हो,” उहाँले भन्नुभयो । उहाँले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कृषकको हितमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सहकारीका अध्यक्ष शम्भु श्रेष्ठले कृषि एम्बुलेन्स सेवा कृषकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उत्पादनदेखि बजारीकरणसम्मको श्रृंखलालाई व्यवस्थित बनाउन यसले सहयोग पुग्ने बताउनुभयो । कृषकले उत्पादन गरेको वस्तु समयमै बजारसम्म पुर्याउन सकिए कृषि व्यवसाय थप व्यावसायिक र आकर्षक बन्ने उहाँको भनाइ थियो ।
त्यसैगरी नीलकण्ठ नगरपालिकाका शासन विज्ञ दिपक कोइरालाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजार पहुँच विस्तारका लागि यस्ता पहलहरू आवश्यक रहेको बताउनुभयो । सहकारी, स्थानीय सरकार र समुदायबीचको सहकार्यबाट सञ्चालनमा आएको कृषि एम्बुलेन्सले कृषकको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले यसलाई अन्य क्षेत्रका लागि पनि अनुकरणीय नमुनाका रूपमा लिन सकिने धारणा राख्नुभयो।
सहकारीका पदाधिकारी तथा स्थानीय कृषकहरूले कृषि एम्बुलेन्स सेवाबाट उत्पादन समयमै बजारसम्म पुग्ने, ढुवानी खर्च घट्ने, कृषि उपजको क्षति कम हुने तथा कृषि व्यवसायप्रति युवाको आकर्षण बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।
