काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालु आर्थिक वर्षको ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेटको हाराहारीमा रहेको छ । सीमित स्रोत र साधनका बीच नगरवासीको बढ्दो अपेक्षा तथा बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बजेट तयार गरिएको उपप्रमुख बज्राचार्यले बताइन् ।

कुल बजेटमध्ये ५६.६ प्रतिशत अर्थात् ४ अर्ब २३ करोड ६९ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । यद्यपि संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा प्राप्त हुने अनुदान घटेकाले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च गत वर्षaको तुलनामा करिब ६ प्रतिशतले घट्ने अनुमान गरिएको महानगरले जनाएको छ ।

चालू खर्चतर्फ भने ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा करिब २८ करोड रुपैयाँ बढी हो। महानगरले सेवा प्रवाह, प्रशासनिक खर्च तथा सञ्चालन व्यवस्थापनका लागि चालू बजेट वृद्धि गरेको जनाएको छ ।