काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २८ को सहयोग तथा आईसीटी पत्रकार विकास मञ्चको आयोजनामा वडा क्षेत्रका विद्यार्थी तथा गृहिणी महिलाहरूलाई लक्षित गरी सञ्चालित पाँचदिने ‘कुहिने र नकुहिने फोहर व्यवस्थापन’ सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
गत असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा वडाभित्रका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू तथा स्थानीय गृहिणी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वातावरण संरक्षण, सरसफाइ एवं स्रोतमै आधारित फोहर व्यवस्थापनको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित तालिम पाँच दिनसम्म दैनिक तीनवटा सत्रमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको पूर्ण सञ्चालन सञ्चारकर्मी एवं पत्रकार साभित्री बस्नेत (साबु) ले गर्नुभएको थियो। तालिमको पहिलो दिन उद्घाटन सत्रसँगै आधारभूत प्रशिक्षण दिइएको थियो भने त्यसपछिका दिनहरूमा कुहिने र नकुहिने फोहरको वर्गीकरण, घरमै फोहर व्यवस्थापन गर्ने तरिका, पुनः प्रयोग तथा पुनर्चक्रण, वातावरणीय सरसफाइ, स्वास्थ्यमा फोहरको प्रभाव र समुदाय स्तरमा सरसफाइ अभियान सञ्चालनका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमकी प्रमुख प्रशिक्षक एवं काठमाडौँ महानगरपालिकाकी फोहर व्यवस्थापन विज्ञ सानुमाया महर्जनले कुहिने र नकुहिने फोहर छुट्याउने विधि, घरमै कम्पोष्ट मल बनाउने प्रक्रिया र दिगो फोहर व्यवस्थापनका उपायबारे व्यावहारिक ज्ञान दिनुभएको थियो। यस्तै, प्रशिक्षक एवं सञ्चारकर्मी साभित्री बस्नेतले वातावरणीय सचेतना र समुदायमा सकारात्मक व्यवहार परिवर्तन तथा प्रशिक्षक कृष्णराज तिमिल्सिनाले वातावरण संरक्षणमा समुदायको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। सामुदायिक प्रहरी वडा २८ की रञ्जना माझीले जथाभाबी फोहर फाल्दा हुने जरिवाना र कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।
१. वडा अध्यक्ष (भाइराम खड्गी) को बाइट:
“हाम्रो वडालाई सफा, सुन्दर र उदाहरणीय बनाउन यो तालिम कोसेढुङ्गा सावित हुनेछ। फोहर व्यवस्थापन केवल महानगरको मात्र दायित्व होइन, प्रत्येक घर र नागरिकको पनि उत्तिकै जिम्मेवारी हो। वडावासीहरू आफैँ सचेत भएर घरको फोहर घरमै वर्गीकरण गर्न थाल्नुभएमा वडा कार्यालयले यस कार्यलाई थप प्रोत्साहन गर्ने नीति ल्याउनेछ।
२. वडा सचिव (कृष्णप्रसाद सोती) को बाइट:
“कार्यालयको तर्फबाट प्रशासनिक रूपमा हामीले यस्ता जनचेतनामूलक कार्यक्रमलाई सधैँ प्राथमिकतामा राखेका छौँ। तालिममा सिकेका कुराहरू कागज र हलमा मात्र सीमित नभई प्रत्येक घरको भान्सा कोठासम्म पुग्नुपर्छ। वडाभित्र फोहरको वैज्ञानिक व्यवस्थापन र सरसफाइलाई प्रभावकारी बनाउन प्रशासनिक रूपमा हुनुपर्ने सम्पूर्ण सहयोग गर्न हामी तयार छौँ।”
३. वडा सदस्य (निना कुमारी खड्गी) को बाइट:
“यस तालिममा हाम्रा स्थानीय गृहिणी महिला दिदीबहिनीहरू र भोलिका कर्णधार विद्यार्थीहरूको सहभागिताले मलाई निकै उत्साहित बनाएको छ। विशेष गरी महिलाहरूले भान्साबाटै निस्कने कुहिने फोहरलाई वर्गीकरण गरेर घरमै कम्पोष्ट मल बनाउन सिक्नुभएको छ। यसले एकातिर फोहर घट्छ भने अर्कोतिर कौसी खेतीलाई समेत मद्दत पुग्नेछ।”
४. आईसीटी पत्रकार विकास मञ्चका अध्यक्ष (पुष्करराज पाण्डे) को बाइट:
“हाम्रो संस्थाले सूचना प्रविधिको विकाससँगै सामाजिक र वातावरणीय उत्तरदायित्वलाई पनि सँगसँगै अगाडि बढाइरहेको छ। समुदाय स्तरमा वातावरणीय चेतना फैलाउन र सरसफाइको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न हामीले यो पहल गरेका हौँ। आगामी दिनमा पनि वडा कार्यालयसँग मिलेर यस्ता प्रभावकारी र समाज रूपान्तरणका कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ।”
५. राष्ट्रिय अभिभावक संघ समितिका केन्द्रीय सदस्य (गोविन्दप्रसाद भुसाल) को बाइट:
“विद्यार्थीहरू समाजका परिवर्तनका संवाहक हुन्। यो तालिममा विद्यालयका छात्रछात्राहरू सहभागी हुनु निकै सकारात्मक पक्ष हो। यहाँ सिकेका विद्यार्थीहरूले आफ्ना आमाबुबा र परिवारलाई पनि फोहर वर्गीकरणबारे सचेत गराउनेछन्। घर र विद्यालय दुवै ठाउँमा फोहर छुट्याएर राख्ने बानी बसाल्न यसले ठुलो भूमिका खेल्नेछ।”
तालिमको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको थियो। सहभागी विद्यार्थी तथा गृहिणीहरूले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने र घर एवं विद्यालयमै फोहर वर्गीकरणको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन्।
घर र विद्यालयबाटै उत्सर्जन हुने फोहरलाई स्रोतमै छुट्याउन सके महानगरको फोहर व्यवस्थापनमा आधाभन्दा बढी भार कम हुन्छ। यस्तो अवस्थामा विद्यार्थी र गृहिणीलाई लक्षित गरी आयोजना गरिएको यो पाँचदिने तालिम व्यावहारिक रूपमै निकै फलदायी देखिएको छ। यस कार्यक्रमले नागरिकलाई आफ्नो फोहरप्रति आफैँ जिम्मेवार बन्न सिकाएको छ। आगामी दिनमा तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न स्थानीय तहले थप अनुगमन र सहजीकरण गर्ने हो भने यसले वडा नं. २८ लाई फोहर व्यवस्थापनको क्षेत्रमा एक नमूना वडाको रूपमा स्थापित गर्ने निश्चित छ।

