काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार मन्त्रालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री बादीले संगठनको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधि, सेवा प्रवाह तथा समग्र सञ्चालन अवस्थाको अनुगमन गर्नुभएको थियो । उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारात्मक कदम तत्काल अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री बादीले नेपाल बाल संगठनमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन तथा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कार्य गर्न विशेष जोड दिनुभएको छ । साथै, मन्त्री बादीले नेपाल बाल संगठनको देशभर रहेका जिल्ला संरचना तथा संगठनको स्वामित्वमा रहेका सम्पत्तिको अवस्था, संरक्षण, उपयोग र व्यवस्थापनका विषयमा समेत विशेष चासो व्यक्त गर्नुभएको छ ।
यसैबीच, अनुगमनबाट प्राप्त तथ्य, सुझाव तथा संस्थाको समग्र अवस्थाका आधारमा नेपाल बाल संगठनका विषयमा केही दिनभित्रै ठोस निर्णय गरिने मन्त्री बादीले बताउनुभएको छ ।

