काठमाडौं । विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर शनिबार (असार २७) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपर मार्केट प्रा. लि. ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्टोरले असार २७ गतेदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहनेछ । कम्पनीले स्टोर पुनः सञ्चालनको अवसरमा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सोही सहयोग र विश्वास कायम रहने अपेक्षा गरेको जनाएको छ ।
भाट–भटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोर सञ्चालनसँगै ग्राहकलाई सहज, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

