काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२ वर्ष पूरा गर्दै नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ
। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अझ सशक्त रूपमा अघि बढाउने भएको छ ।
बैंकले ग्राहक, समुदाय र समग्र अर्थतन्त्रको समावेशी तथा समृद्ध भविष्य निर्माणलाई केन्द्रमा राख्दै नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो शक्ति ग्राहकको विश्वास रहेको बताए । उनले नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनेको बताउँदै विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको र विश्वास नै भविष्यको बलियो आधार बन्ने बताए ।
चार दशकमा नेपालको आर्थिक तथा औद्योगिक क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उनले नबिल बैंकले परिवर्तनको प्रतीक्षा नगरी सधैं त्यसको नेतृत्व गरेको बताए । उनका अनुसार बैंकले आधुनिक बैंकिङको जग बसाल्दै ‘एनबैंक’ एपमार्फत नेपालको पहिलो डिजिटल बैंकको अवधारणालाई स्थापित गरेको छ । साथै, वाणिज्य बैंकिङ, लगानी बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, पुँजी बजार तथा डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम एउटै समूहअन्तर्गत सञ्चालन गर्ने नेपालको एकमात्र वित्तीय समूहका रूपमा आफूलाई स्थापित गरेको दाबी गरे ।
अध्यक्ष चौधरीले बैंकिङ क्षेत्र अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरेको उल्लेख गर्दै एआईले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, सेवा सञ्चालन र ग्राहक अनुभवलाई नयाँ रूपमा परिभाषित गरिरहेको बताए । उनका अनुसार अब ‘एनबैंक’ एपको विकासमा एआईलाई केन्द्रमा राखिनेछ जसबाट कर्जा प्रवाह छिटो, जोखिम व्यवस्थापन प्रभावकारी, ग्राहक अनुभव अझ व्यक्तिगत, वित्तीय समावेशीकरण व्यापक तथा सुरक्षा प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालको पहिलो प्रविधिमैत्री निजी बैंकका रूपमा सुरु भएको यात्रा आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण गौरवपूर्ण उचाइमा पुगेको बताए । उनले बैंकले ग्राहक र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्दै भविष्यमा अझ बढी आत्मविश्वास, नवप्रवर्तन र प्रतिबद्धताका साथ अघि बढ्ने उल्लेख गरे ।
नबिल बैंकले देशको आर्थिक विकासलाई टेवा पुर्याउने रणनीतिक क्षेत्रमा ठूलो लगानी गर्दै आएको जनाएको छ । हालसम्म बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ नेटवर्थ र १० लाख रुपैयाँ खुद नाफाबाट यात्रा सुरु गरेको बैंकको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै १४ करोड ६० लाख रुपैयाँ निक्षेपबाट सुरु भएको बैंकको निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटिएम, १८ विस्तारित काउन्टर तथा २ हजार ४६९ कर्मचारी मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
४२औं वार्षिकोत्सवका अवसरमा बैंकले ४२ दिनसम्म विभिन्न ग्राहक–केन्द्रित योजना सञ्चालन गर्ने जनाएको छ । हेटौंडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावित ग्राहकका लागि आधार दरमा केवल ०।५ प्रतिशत प्रिमियम थप गरी पुनःनिर्माण घर कर्जा उपलब्ध गराइनेछ ।
त्यस्तै लकर सुरक्षा धरौटीमा ४२ प्रतिशत छुट, विद्युतीय भुक्तानी प्रवेशद्वार सेवाको एकीकरण शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा वार्षिक सदस्यता शुल्कमा विशेष छुट र वार्षिकोत्सवकै दिन डेबिट कार्ड आवेदन दिने ग्राहकलाई चार वर्षसम्म निःशुल्क डेबिट कार्ड सुविधा प्रदान गरिने को भनाइ छ ।

