काठमाडौं । काठमाडौं मोडल कलेजमा केएमसी एन्टरप्रेनरसिप क्लब तथा केएमसी मिडिया रिचआउट क्लबको आयोजनामा र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा ‘केएमसी हाटबजार २०८३’ सम्पन्न भएको छ । ‘सिक्ने हात, कमाउने आँट’ भन्ने मूल भावलाई आत्मसात् गरेको यस कार्यक्रमले विद्यार्थीको उद्यमशीलता, सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमतालाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि पूर्व मिस नेपाल २०१८, युवा उद्यमी तथा प्रतिनिधि सभा सदस्य अनुष्का श्रेष्ठ रहेकी थिइन् । कार्यक्रमको औपचारिक उद्घाटन काठमाडौं मोडल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा काठमाडौं मोडल सेकेन्डरी स्कुल का प्राचार्य डा. नागेन्द्र आर्यालले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले उद्घाटन मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनात्मक सोच, आत्मनिर्भरता र व्यवहारिक व्यवसायिक अनुभवतर्फ प्रेरित गर्ने बताएका थिए ।
यस वर्षको हाटबजारमा काठमाडौं मोडल कलेजसँगै केएमसी एजुकेसन नेटवर्क अन्तर्गतका केएमसी बागबजार, केएमएसएस बागबजार, केएमएसएस ललितपुर तथा एमआईटी कलेजका विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।
विभिन्न संस्थाका विद्यार्थीहरूले आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापनसम्बन्धी सिपलाई एउटै मञ्चमार्फत प्रदर्शन गर्ने अवसर प्राप्त गरेका थिए । कार्यक्रममा ३२ वटा विविध स्टल राखिएका थिए, जहाँ विद्यार्थीहरूले स्वादिष्ट परिकार, फेसनेबल लुगा, हस्तनिर्मित गहना, हस्तकलाका सामग्री, होम डेकोर, ह्यान्डमेड फ्लावर लगायतका आकर्षक उत्पादनहरू प्रदर्शन तथा बिक्री गरेका थिए ।
प्रत्येक स्टलले विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यवसायिक सम्भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए ।
करिब २ हजार विद्यार्थी तथा आगन्तुकहरूको सहभागिता रहेको कार्यक्रममा धेरै विद्यार्थीका लागि आफ्नै उत्पादन बिक्री गर्ने, ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने तथा वास्तविक बजारको अनुभव हासिल गर्ने यो पहिलो अवसर बनेको थियो । यस अनुभवले उनीहरूलाई उद्यमशीलता, ग्राहक सेवा, बजार व्यवस्थापन तथा व्यवसाय सञ्चालनका व्यवहारिक पक्षबारे महत्वपूर्ण सिकाइ प्रदान गरेको थियो ।
कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने स्टलहरूलाई सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सेना, बीबीए तथा बीबीएम कार्यक्रम प्रमुख सागर खरेल, बीए तथा बीबीएस कार्यक्रम प्रमुख एलिस राजोपाध्याय र अध्यापक दामोदर लम्साल लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
‘स्टुडियो क्रोम’ ले आफ्नो आकर्षक होम डेकोर अवधारणामार्फत सबैभन्दा नवीन स्टल को उपाधिसहित ५ हजार नगद पुरस्कार प्राप्त गर्यो । त्यसैगरी केएमसी बागबजारको ‘टेक हब’ ले रमाइला तथा सिर्जनात्मक खेलमार्फत दर्शकको मन जित्दै ‘पिपुल्स च्वाइस अवार्ड’ सहित ५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।
सोही अवसरमा आर्ट एण्ड लिटरेचर क्लबद्वारा आयोजित मेहेन्दी प्रतियोगितामा बीबीएम दोस्रो सत्रान्तमा अध्ययनरत सनम यादव र गरिमा फुयाल प्रथम हुँदै जनही २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्न सफल भए ।
बीबीए चौथो सत्रान्तमा अध्ययनरत पार्वती रावल र ज्यास्मिन खातुन द्वितीय हुँदै जनही १ हजार ५०० नगद पुरस्कार प्राप्त गरेका थिए । उक्त प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता, कलात्मक प्रतिभा र सहभागितालाई थप प्रोत्साहन प्रदान गरेको थियो ।

