काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले पर्यटन क्षेत्रसँग सम्बन्धित दशकौं पुराना ऐन–कानुन संशोधन गरी नेपाललाई थप पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । होटल संघ नेपालले गत सोमबार होटल हिमालयमा आयोजना गरेको ‘आतिथ्य संवाद’ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि नीतिगत सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरूको स्तरोन्नति, हवाई सेवाको विस्तार तथा हिमाली सौन्दर्य अवलोकनसँग जोडिएका सडक सञ्जालको विकासमार्फत पर्यटकको बसाइ अवधि र गन्तव्य अनुभवलाई थप आकर्षक बनाइने जानकारी दिए । उनले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि र निजी क्षेत्रमैत्री नीतितर्फ प्रतिबद्ध रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।
उनले पर्यटन उद्योगको दिगो विकास सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्र सम्भव हुने उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म निजी क्षेत्रको सुझाव र सहभागितालाई सरकारले निरन्तर महत्व दिने प्रतिबद्धता व्यक्त गरे ।

