काठमाडौँ । गुरुप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने पावन पर्व गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँको आयोजनामा शुभकामना आदानप्रदान तथा गुरु सम्मान कार्यक्रम भव्य एवम् आत्मीय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कराते प्रशिक्षक, खेलाडी तथा अभिभावकहरूको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले गुरुले केवल खेल कौशल र सीप मात्र नभई संस्कार, अनुशासन र सामाजिक जिम्मेवारीको भावनासमेत हस्तान्तरण गर्ने बताउनुभयो। अनुशासित नागरिक र सभ्य समाज निर्माणमा गुरुहरूको योगदान सधैँ अतुलनीय रहने उहाँको भनाइ थियो।
नेपाल कराते महासंघका प्रतिनिधि राजेन्द्र क्षेत्रीले विशेष अतिथिका रूपमा बोल्दै गुरु-शिष्यको पवित्र सम्बन्ध नै कराते खेलको मुख्य आधार स्तम्भ भएको स्पष्ट पार्नुभयो। उहाँले निरन्तर अभ्यास, कडा अनुशासन र परस्पर सम्मानको संस्कृतिलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, कार्यक्रमका सभापति एवं कराते क्लब बालाजुका अध्यक्ष सूर्यप्रसाद घिमिरेले गुरुहरूको अहोरात्र खटाइ, समर्पण र सही मार्गदर्शनकै कारण नेपाली करातेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर गौरवपूर्ण सफलता हासिल गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कराज पाण्डे, जापान गोजुरियो कराते संघका केन्द्रीय अध्यक्ष विदुर कुँवर, वरिष्ठ प्रशिक्षक होम गुरुङ तथा टिम कोच कृष्णबहादुर विकको विशेष उपस्थिति रहेको थियो। सम्बोधनका क्रममा अतिथिहरूले खेलकुदको माध्यमबाट युवा पुस्तालाई नैतिकवान, सक्षम र अनुशासित बनाउन समाजका सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
सो अवसरमा सहभागी खेलाडीहरूले आफ्ना गुरुहरूप्रति आदर र सम्मान व्यक्त गर्दै आशीर्वाद ग्रहण गरेका थिए। सामूहिक रूपमा केक काटेर एकापसमा शुभकामना साटासाट गरिएको उक्त कार्यक्रमले उपस्थित सबैमा सकारात्मक ऊर्जा, प्रेरणा र आपसी सद्भावको सन्देश प्रवाह गरेको थियो।
कराते क्लब बालाजुले आगामी दिनहरूमा पनि खेलकुदको विकासका साथसाथै नैतिक शिक्षा, कडा अनुशासन र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

