काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारसँग मंगलबार अन्तरक्रिया गर्ने भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
अन्तरक्रियामा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय तथा समाचार सम्प्रेषणका क्रममा पत्रकारले भोग्दै आएका समस्याबारे विचार आदानप्रदान गरिनेछ। छलफलका लागि विभिन्न मिडियामा राजनीतिक बिट हेर्ने पत्रकारलाई आमन्त्रण गरिएको छ।
मन्त्री पोखरेलले पछिल्लो समय सञ्चार, शिक्षा र राजनीतिक बिटका पत्रकार तथा शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। यस्ता छलफलबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार र पारदर्शितालाई प्राथमिकता दिइएको मन्त्रालयको भनाइ छ।
