काठमाडौं । सेयर बजार बुधबार पनि स्थिर देखिएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५५ अंकले वृद्धि भई नेप्से परिसूचक २६४२.४० बिन्दु कायम भएको छ । हिजो पनि स्थिर नै थियो ।
यस दिन कारोबार रकममा समेत गिरावट आएको छ । हिजो ४ अर्ब ११ करोडको सेयर किनबेच भएको थियो भने आज घटेर साढे ३ अर्बमा खुम्चिएको छ ।
आजदेखि कारोबारमा आएको माउन्ट इनर्जी पावर डेभलपमेन्टको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आईसीएफसी डिबेन्चरमा नकारात्मक सर्किट लागेको नेप्से जनाएको छ ।
कारोबार रकममा हिसाबले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३१ करोड ६० लाख रुपैयाँबराबरको धितोपत्र खरिदबिक्री भएको छ ।
संख्याका आधारमा कुमारी बैंकको ३ लाख ९४ हजार कित्ता कारोबार भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको रिपोर्टअनुसार कुमारी बैंकको नाफा बढेको छ । यही कारण लगानीकर्ता यो स्टकमा झुम्मिएका छन् ।

