काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को प्रवर्द्धनमा सरकारको साथ रहने बताएका छन् ।
काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटर निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनत प्रशंसनीय रहेको बताए ।
नेपालमै डिजाइन भएर विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले उत्पादनको गुणस्तरलाई विश्वस्तरीय बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सुझाव दिए ।
‘तपाईंहरूले गरेको मेहनत सराहनीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला । अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ ।’
नेपालमा उत्पादन हुने यस्ता सवारीसाधनलाई विश्व बजारसम्म विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाली इन्जिनियर र डिजाइनरले गरेको मेहनतलाई सम्मान गर्दै उनले उत्पादनलाई नेपालबाटै विश्व बजारमा विस्तार गर्न सकिने सम्भावना खोज्न आग्रह गरे ।
सो क्रममा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्री वाग्लेलाई ‘यात्री पीटू’को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा तथा विभिन्न भूभागमा गरिएको परीक्षणबारे जानकारी गराएका थिए ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटरको डिजाइन र उत्पादन गर्नु ऐतिहासिक सफलता भएको बताए । उनका अनुसार नेपाली भूगोलको कठिन तथा जटिल पहाडी र हिमाली क्षेत्रमा स्कुटरको सफल परीक्षण गरिएको छ ।
कम्पनीले केही दिनभित्रै ‘यात्री पीटू’ सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी गरेको छ । स्कुटरका केही विशेषता भने सार्वजनिक गर्नुअघि गोप्य राखिएको कम्पनीले जनाएको छ ।
श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधनलाई प्रतिस्पर्धी बनाउन ब्याट्री, स्कुटरका पार्टपुर्जा तथा आवश्यक कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति ल्याउनुपर्ने बताए ।
नेदरल्यान्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए । पछि सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि कम्पनी ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको हो ।
कम्पनीले आफ्नै डिजाइन र इन्जिनियरिङमा तयार पारेको ‘यात्री पीटू’को गुणस्तर परीक्षणसमेत गराएर उत्पादन गरेको जनाएको छ ।
कम्पनीका अनुसार नेपालमै डिजाइन र इन्जिनियरिङ गरी निर्माण गरिएको यो विद्युतीय स्कुटर नेपाली विद्युतीय सवारीसाधन उद्योगका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

