काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । नेपालमा रहेका भारतीय समुदाय, भारतीय नागरिक तथा शुभेच्छुकहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गीतबाट गरिएको थियो । त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतीय राष्ट्रिय झण्डोत्तोलन गर्दै राष्ट्रिय गान प्रस्तुत गर्नुभएको थियो । साथै, भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधन पनि प्रसारण गरिएको थियो ।
सो अवसरमा भारतीय राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका परिवार तथा नजिकका आफन्तलाई सम्मान गर्दै करिब ८ करोड २० लाख रुपैयाँबराबरको ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ (एजीआईएफ) अन्तर्गतको सहायता रकम हस्तान्तरण गरेका थिए ।
राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरेको छ । ‘विकसित भारत’ विषयक चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । साथै, भारतको हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेताहरूलाई पनि सम्मान गरिएको जनाइएको छ ।
यसै अवसरमा भारतीय राजदूतावासले नेपालका सातै प्रदेशका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । यस पहलबाट शैक्षिक स्रोतमा पहुँच विस्तार हुने विश्वास लिइएको छ ।
कार्यक्रममा भारतीय समुदाय, राजदूतावासका अधिकारी तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो । राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए ।

