काठमाडौं । साउनको दोस्रो पाक्षिक उपहार विजेता घोषणा गरिएको छ ।
सरकारले सञ्चालन गरेको करतादाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेता घोषणा गरेका हुन् । विजेताले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट सामान किनेका थिए ।
त्यस्तै, अन्य १६ जनाले एक–एक लाख रुपैयाँ जितेका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार, सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।
साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।
यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो ।
यता, क्युआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।
विभागका अनुसार, पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ ।
यिनैमध्येबाट आज १६ जना विजेता छनोट गरिनेछ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १६ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ ।

