काठमाडौं । लोकिप्रय भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा भक्तपुरको राधेराधेस्थित स्टोरबाट सोमबारदेखि यो सेवा सुरु गरेको हो ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार ग्राहकलाई आफ्नो अनुकूल समयमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले स्टोरलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको हो ।
भाटभटेनीले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक–एक वटा स्टोर चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । भक्तपुरपछि ललितपुरको पाटनस्थित कृष्णगल्ली र काठमाडौंको टंगालमा रहेको स्टोरलाई पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने योजना छ । टंगाल स्टोर भदौ २४ गतेदेखि सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।
यद्यपि, चौबिसै घण्टा सञ्चालन हुने स्टोरको पहिलो तला मात्र खुला रहनेछ । त्यहाँ मुख्यतः ग्रोसरी सामग्री उपलब्ध हुनेछन् । रातको समयमा ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय सरकार र प्रशासनलाई समेत जानकारी गराइएको भाटभटेनीले जनाएको छ ।
काठमाडौंपछि पोखरामा पनि चौबिसै घण्टा सञ्चालन गर्ने योजना भाटभटेनीले बनाएको छ ।
हाल भाटभटेनीका देशभर २७ वटा स्टोर सञ्चालनमा छन्, जसमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

