काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्दैछन् ।
प्रतिनिधिसभामा मन्त्रीहरू र पार्टीकै सांसदहरूबीच दूरी बढेपछि सभापतिले छलफल गर्न लागेका हुन् ।
बिहान ११ बजे संसदीय दलको कार्यालयमा सबै मन्त्री तथा सांसदहरूलाई उपस्थित हुन भनिएको छ । बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए ।
छलफलमा सभापति लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई मर्यादाको विषयमा निर्देशन दिने उनको भनाइ छ । यस्तै, सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ ।
सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेको छ ।

