अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार चौथो दिन पनि बढेको छ।
बुधबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य २६ सेन्ट अर्थात् ०.२९ प्रतिशतले बढेर प्रतिब्यारेल ९१.२८ डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेल ३७ सेन्टले बढेर ८५.३१ डलर पुगेको छ।
मंगलबार पनि दुवै बेन्चमार्कको मूल्य जुलाई २४ यताकै उच्च स्तरमा पुगेको थियो।
अमेरिका र इरानबीच तत्काल शान्ति सम्झौता हुने सम्भावना कमजोर बन्दै गएपछि बजारमा तेल आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम बढेको छ। विशेषगरी विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज हुँदै जहाज आवतजावतको अवस्थाबारे वासिङ्टन र तेहरानबाट आएका परस्परविरोधी दाबीले लगानीकर्ताको चिन्ता बढाएको छ।
रोयटर्सका अनुसार हर्मुज हुँदै हुने तेल ढुवानी युद्धअघि दैनिक करिब १ करोड ८० लाख ब्यारेलबाट घटेर करिब २० लाख ब्यारेल आसपासमा पुगेको छ। यसले बजारमा दीर्घकालीन आपूर्ति संकटको आशंका बढाएको छ।
यसैबीच, मंगलबार इरानबाट स्ट्रेट अफ हर्मुजतर्फ दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार भएको र एउटा मालवाहक जहाजको इन्जिन कक्षमा आक्रमण भएको घटनाले पनि तेल आपूर्ति सुरक्षाप्रति चिन्ता बढाएको छ।
हर्मुजमा तनाव लम्बिँदै गए तेलको मूल्य अझ माथि जान सक्ने जोखिम रहेको बजार विश्लेषकहरूले बताएका छन्।

