काठमाडौं । बैंकिङ प्रणालीको अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै छ ।
राष्ट्र बैंकले ६ महिनाका लागि दिन निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बोलकबोल प्रक्रियाबाट संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १०५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिनेछ । यस उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते गर्ने तालिका तय गरिएको छ ।

