अमेरिकी वायुसेनाका दुईवटा केसी-३५ ट्यांकर विमान बुल्गेरियाको बेजमेर हवाई अड्डाबाट बाहिरिएका छन् ।
ती विमान करिब एक महिनाअघि बुल्गेरियामा तैनाथ भएपछि इरान आक्रोशित भएको थियो।
विमान तैनाथ गरिएपछि इरानले बुल्गेरियालाई चेतावनी दिँदै यस्तो कदमलाई आक्रमण र युद्ध अपराधमा संलग्नताका रूपमा लिइने धम्की दिएको थियो। तर बुल्गेरियाको सरकारले इरानको उक्त आरोप अस्वीकार गरेको थियो।
बुल्गेरियाका रक्षामन्त्री दिमितार स्तोयानोभले पत्रकारहरूसँग कुरा गर्दै दुई अमेरिकी विमानले हिजो बुल्गेरिया छाडेको जानकारी दिएका हुन्।
अमेरिकाले संयुक्त सैन्य सुविधा प्रयोगसम्बन्धी सम्झौताअन्तर्गत ती विमानलाई अस्थायी रूपमा बुल्गेरियामा तैनाथ गर्न अनुमति मागेको थियो।
हाल विमानहरू फिर्ता भएको विषयमा अमेरिकी सैन्य अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

