काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था पीडादायी र चुनौतीपूर्ण रहेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । सिजपले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा मानवीय संस्थाहरूलाई अपिल गरेको छ ।
विशेषगरी विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न सिजपले आग्रह गरेको छ। विपद्को समयमा बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित निकायलाई विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । सिजपले प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्शलाई राहत तथा पुनर्स्थापनाको अभिन्न अंग बनाउनुपर्ने जनाएको छ ।
यस्तै, विपद्का पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता, मर्यादा र सम्मानको संरक्षण गर्नुपर्नेमा जोड दिँदै सिजपले बालबालिका तथा परिवारका तस्वीर, भिडियो वा संवेदनशील अवस्थालाई अनुमति र आवश्यक संवेदनशीलताबिना सार्वजनिक नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । बेपत्ता तथा बेवारिसे शवबाट फैलन सक्ने दुर्गन्ध तथा सम्भावित महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन र बालबालिकालाई त्यस्ता स्थानमा जान नदिन पनि सिजपले सम्बन्धित सबैलाई सचेत गराएको छ ।
साथै, राष्ट्रिय मानव अधिकार आयोगलाई बालबालिकालाई विशेष प्राथमिकतामा राखेर प्रभावकारी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन गर्न सिजपले अनुरोध गरेको छ । विपद्सम्बन्धी सूचना तथा राहतको अवस्थाबारे आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकता दिन, अपुष्ट सूचना तथा अफवाह फैलिन नदिन र प्रभावित समुदायको संवेदनशीलतालाई सम्मान गर्नसमेत सिजपले सबैमा आग्रह गरेको छ ।

