संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा इरानमाथि लगाइएका प्रतिबन्धको निगरानी गर्ने विज्ञ समूहको म्याद थप्ने अमेरिकी प्रस्तावलाई चीन र रुसले भिटो गरेपछि इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले त्यसको स्वागत गरेका छन्।
घालिबाफले चीन र रुसको भिटोले सुरक्षा परिषद्को ‘राजनीतिक दुरुपयोग’ अस्वीकार गर्दै कानुनी शासनको पुनःपुष्टि गरेको बताएका छन्।
उनले भनेका छन्, “एक पक्षले बल र दबाबमार्फत अर्काे पक्षबाट सहुलियत लिने एकध्रुवीय व्यवस्था अन्त्य भएको छ।” उनले बहुपक्षीयताको रक्षा गर्नुपर्ने पनि बताएका छन्।
अमेरिकाले भने इरानमाथिका प्रतिबन्ध कार्यान्वयनको स्वतन्त्र निगरानी कमजोर हुने भन्दै चीन र रुसको भिटोको आलोचना गरेको छ। प्रस्तावको पक्षमा ११ सदस्यले मतदान गरेका थिए भने चीन र रुस विपक्षमा थिए तथा सोमालिया र पाकिस्तानले मतदानमा भाग लिएनन्।
