काठमाडौँ । हरेक वर्षको अक्टोब २९ तारिखलाई अन्तर्राष्ट्रिय संरक्षक दिवसका रुपमा मनाउने गरिन्छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नव आगमन संरक्षक समाजको आयोजना तथा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल र Carers worldwide को सहयोगमा कार्तिक १२ गते (अक्टोबर २९, २०२६) का दिन ” परिवर्तनका लागि सहयात्रा, संरक्षकहरूको पहिचान र समर्थन गरौँ” भन्ने नारा सहित ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस (International Caregivers Day / International Guardian Day काठमाडौँमा सम्पन्न गरिएको छ ।
यस दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा आयोजक संस्थाकी सदस्य लता पराजुलीले सहभागी सबैलाई स्वागत गर्दै अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका संरक्षकहरूले भोग्न परेको सामाजिक चुनौतीको अन्त्यका लागि सबै एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका बालबालिका वा व्यक्तिहरूको रेखदेख गर्ने संरक्षकहरूलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपमा सशक्त र सक्षम बनाउनु पर्ने लगायतका विभिन्न सवालहरू समावेश गरिएका प्लेकार्डहरू लिएर काठमाडौँको वसन्तपुरमा जनचेतना मूलक प्रभात फेरी पनि गरिएको थियो ।
उक्त प्रभात फेरी पश्चात् यस दिवसको अवसरमा शुभकामना मन्तव्य कार्यक्रम गरिएको थियो । ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा आयोजक संस्था नव आगमन संरक्षक समाजका संस्थापक अध्यक्ष शक्ति थापाले अति असक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूका संरक्षकहरूका विभिन्न चुनौतीहरूलाई राज्यले मनन गरी त्यस चुनौतीको समाधानका उपयाहरु अपनाएर कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने भन्दै पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका संरक्षकहरूका सवालहरूलाई समाज र राज्यले स्वीकार गर्दै बनेका ऐन,नीति नियमहरू पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
अति अशक्त तथा पूर्ण अशक्त अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका संरक्षकहरूको सम्मान र अधिकारका लागि मनाइने यस दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष विनोदकुमार राज भण्डारीले शुभकामना व्यक्त गर्दै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका संरक्षकहरूको हक हित र अधिकारका लागि वडाबाट बजेट विनियोजन गर्ने बताउनु भयो । उक्त कार्यक्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) सुशीलमान सिंह प्रधानले हेरचाह सबैका लागि आवश्यक हुने र अति असक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूका लागि झनै आवश्यकता हुने हुँदा हेरचाह गर्ने व्यक्तिहरूको हेरचाहका लागि पनि सबैले ध्यान दिनु पर्ने भन्दै सम्बन्धित निकायले हेरचाहकर्तालाई सशक्त बनाइनु पर्ने, दिगो हेरचाह तथा सहयोगी प्रणाली निर्माण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने बताउनु भयो ।
साथै उहाँले हेरचाह र सहयोगलाई परिवारको नीति समस्याको रूपमा मात्रै नहेरी राज्य र समाजले साझा जिम्मेवारीको रूपमा स्वीकार गर्नु पर्ने कुरामा जोड दिनु भयो । यसै कार्यक्रममा अपाङ्गता अधिकारकर्मी तथा अधिवक्ता राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूका संरक्षकका आवाजलाई सबै मिलेर उठाउनु पर्ने, अब बन्ने र संशोधन हुने कानुनहरूमा अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका संरक्षकहरूका सवालहरूलाई समावेश गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । त्यसैगरी स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संवोधन गर्नका लागि राज्यलाई झकझक्याउनु पर्ने, उनीहरूको हक हित र अधिकारको लागि अब छिटोभन्दा छिटो सडकमा नै आन्दोलन गर्ने बताउनु भयो ।
यसै क्रममा उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको सहयोगी सेवाका लागि गरिने आन्दोलनलाई सफल पार्नका लागि अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका संरक्षकहरूको सहभागी हुन जरुरी रहेको बताउनु भयो । नव आगमन संरक्षक समाजको आयोजना तथा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल र Carers worldwide को सहयोगमा कार्तिक १२ गते (अक्टोबर २९, २०२६) मा ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवसका अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा आयोजक संस्थाकी कार्यवाहक अध्यक्ष तथा उक्त सभाकी सभाध्यक्ष सुशीला मल्लले नव आगमन संरक्षक समाजमा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू संरक्षकको रूपमा रहेको भन्दै ती संरक्षकहरूको आर्थिक, सामाजिक, मानसिक स्वास्थ्यको अभिवृद्धिका लागि राज्यले कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । साथै उहाँले संयुक्त राष्ट्र सङ्घले अक्टोबर २९ तारिखलाई अन्तर्राष्ट्रिय हेरचाह तथा सहयोग दिवसको रूपमा मनाउँदै आएको र संरक्षकहरूको हक अधिकारका लागि यस दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमको सञ्चालन गर्दै संस्थाकी सचिव लक्ष्मीकुमारी बस्नेतले यस दिवसले अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका बालबालिका वा व्यक्तिहरूको रेखदेख गर्ने संरक्षकहरूलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपमा सशक्त र सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा संरक्षकहरूका विभिन्न सवालहरूका विषयमा जनचेतना जगाउनु पर्ने, उनीहरूको हक अधिकारका विषयमा सरोकारवाला निकायहरूलाई सचेत गराउनु पर्ने, उनीहरूको आर्थिक, सामाजिक, विभिन्न हिंसात्मक चुनौतीहरू न्यूनीकरणका विषयमा काम गर्न हामी सबैले स्थानीय निकाकयहरु देखि राज्यको केन्द्रसम्म पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

