
काठमाडौं। धान दिवस तथा राष्ट्रिय धान रोपाइँ महोत्सवको अवसरमा लाइभ नेपाल नेटवर्क र आईसीटी पत्रकार विकास मञ्चको सहकार्यमा रक्षा नेपाल सामाजिक संस्थाको कार्यालय र सेन्टर होममा आश्रित चेलीहरूका लागि विभिन्न सहयोग सामग्रीहरू वितरण गरिएको छ। यस सहकार्यले त्यहाँ रहेका चेलीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्य राखिएको छ।
सहयोग अभियानमा नुवाकोट डेरी प्रोडक्ट्सका सञ्चालक देवराज वजगाईंले १५ लिटर दही र २ केजीभन्दा बढी पनिर उपलब्ध गराउनुभयो। त्यसैगरी, युवा कृषि व्यवसायी दीपक न्यौपानेले आफ्नी छोरी रिष्टाको जन्मदिनको अवसर पारेर १५ केजीभन्दा बढी च्याउ वितरण गर्नुभएको थियो।
यसका साथै, पूर्व वडा अध्यक्ष न्हुछे महर्जनले एक बोरा चिउरा सहयोग गर्नुभएको थियो भने लाइभ नेपाल नेटवर्क प्रा. लि. र आईसीटी पत्रकार विकास मञ्चले १२ केजीभन्दा बढी आँप उपलब्ध गराएका थिए। यी सबै सहयोग सामग्रीहरू रक्षा नेपालमा रहेका चेलीहरूको घरसम्म पुर्याउन श्याम कुमार घिमीरेले विशेष सहयोग गर्नुभएको थियो।
सहयोगी मनहरूले असार १५ गते, अर्थात् धान दिवसको अवसरमा आफ्नो संस्कृति बचाउने उद्देश्यका साथ यो सहयोग गरेको बताएका छन्। यस प्रकारको सहकार्यले सामाजिक संस्थाहरूलाई थप ऊर्जा प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास समाजसेवी तथा पत्रकार पुष्कर राज पाण्डेले जानकारी गराए ।


