
काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा युवा व्यवसायी ध्रुव तिवारी सम्मानित भएका छन् । राजधानी काठमाडौंमा शुक्रबार युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले तिवारीलाई सम्मान गरेका हुन् ।
युवा उद्यमशीलताको प्रतीकका रूपमा पहिचान बनाएका तिवारी लामो समयदेखि दुग्ध उद्योग र सहकारी क्षेत्रमा सक्रिय छन् । उनी डेरी व्यवसायमार्फत मात्र नभई विभिन्न सामाजिक संघ–संस्था, सामुदायिक कार्यक्रम र सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा निरन्तर संलग्न हुँदै आएका छन् ।
सम्मान ग्रहण गर्दै तिवारीले आफूलाई दिइएको विश्वास र कदरले आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको बताए । उनले भने, यो सम्मान मेरो व्यक्तिगत मात्र नभई सम्पूर्ण डेरी व्यवसायी समुदाय र युवापुस्ताप्रतिको कदर हो । यसले मलाई अझै रचनात्मक कार्य गर्न हौसला मिलेको छ ।
युवापुस्तालाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने अभियानमा समेत सक्रिय तिवारीले डेरी व्यवसायलाई स्वावलम्बन र ग्रामीण अर्थतन्त्र मजबुत पार्ने आधारस्तम्भका रूपमा लिनुपर्नेमा जोड दिँदै आएका छन् ।
