
काठमाडौं । टोखा नगरपालिका राेजगार सेवा केन्द्रको आयोजनामा “श्रमको सम्मान राष्ट्रको अभियान” अन्तर्गत श्रमिकको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, नगर प्रवक्ता बच्चुराज बस्याल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरूको सहभागिता रहेको जनाइएको छ ।
श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा श्रमिकमाथि हुने अन्याय, समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागी वक्ताहरूले श्रमिकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका भित्र कार्यरत कुनै पनि श्रमिक अन्यायमा परेमा श्रम डेस्कमा जानकारी गराउन आग्रह गरे । “टोखा नगरपालिका तपाईंको न्यायका लागि सधैं प्रतिबद्ध छ,” उनले भने ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख उदय कुमार गुप्ताले श्रमिकका अधिकार, कानुनी व्यवस्था तथा श्रमसम्बन्धी प्रक्रियाबारे प्रशिक्षण (अभिमुखीकरण) प्रदान गरेका थिए ।
त्यस्तै, श्रमिकको अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्ना अनुभव, चुनौती र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा श्रम डेस्कमार्फत श्रमिकका गुनासा सुन्ने, दर्ता गर्ने र समाधान गर्ने प्रक्रियालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
श्रमिकहरूको अथक मेहनत र योगदानलाई कदर गर्दै ७० जना भन्दा बढी श्रमिकलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम पूर्ण रूपमा श्रममैत्री र श्रमिकको हक–अधिकारप्रति केन्द्रित रहेको थियो । कार्यक्रममा सहभागी श्रमिकहरूलाई सम्मान गर्दै उनीहरूको श्रम र समर्पण नै समाज र राष्ट्र निर्माणको आधार भएको उल्लेख गरिएको थियो ।
कार्यक्रमको सहजीकरण राेजगार संयाेजक सिर्जना आचार्यले गरेकी थिइन् भने स्वागत मन्तव्य विश्वास नेपालकी परियाेजना संयोजक कमलन सापकाेटाले राखेकी थिइन् । टोखा नगरपालिकाले यस्ता कार्यक्रममार्फत श्रमिकमैत्री वातावरण निर्माण गर्दै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ
अन्त्यमा, कार्यक्रममा सहभागी सरोकारवाला निकाय तथा प्रतिनिधिहरूले श्रमिकमैत्री नीति निर्माण, प्रभावकारी कार्यान्वयन र न्यायमा सहज पहुँच सुनिश्चित गर्न समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । यस्तो पहलले स्थानीय तहमा श्रमिकको अधिकार संरक्षण गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएकाे छ ।


