
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
उसले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । गत वैशाख २१ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो । यद्यपि उसको दलका अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै छन् ।
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदैछन् । त्यसैले आज दुई मन्त्रीले के गर्लान् भन्ने चाँसोका साथ हेरिएको छ ।
दलको आन्तरिक विवादको कारण जनमतले दलको नेताबाट महेश प्रसाद यादवलाई हटाएर सिंहलाई नियुक्त गरिसकेको छ । १०७ सदस्यीय मधेश प्रदेश सभामा जनमतका हाल १२ सांसद छन् ।
बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको हो ।


