
चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बताएका छन् ।
भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गरेको उनले दावी गरे ।
बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, “ चीनले यो (अमेरिका इरानबीचको) युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन।”
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उहाँ(राष्ट्रपति सी)ले स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उहाँले भन्नुभएको छ ‘यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु।”
राष्ट्रपति ट्रम्प चीनको तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेका थिए भने उनी आज चीनबाट स्वदेश फिर्ता हुनेछन ।


