
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई आधुनिक र बिरामीमैत्री बनाउन १ करोड ७० लाखभन्दा बढी मूल्यका प्रविधि, उपकरण तथा प्रणाली हस्तान्तरण गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई इन्टरेक्टिभ किओस्क, अल–इन–वन डेस्कटप, सर्भर तथा अन्य डिजिटल पूर्वाधार हस्तान्तरण गर्नुभएको हो ।
यससँगै ओपीडी सेवा चरणबद्ध रूपमा कागजरहित र छरितो बन्दै जाने अपेक्षा गरिएको छ। प्रमुख आचार्यले प्राप्त सहयोगले सेवा व्यवस्थापनमा ठोस सुधार आएको उल्लेख गर्दै बिरामीमैत्री प्रणाली विस्तारमा यो सहयोग महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । आगामी चरणमा क्यान्सर उपचारलगायत सेवालाई समेत पूर्ण रूपमा डिजिटल र कागजरहित बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
महानगरपालिकाले अस्पताल सँगको सहकार्यलाई अझ विस्तार गर्दै स्वास्थ्य सेवामा प्रविधिमैत्री पहुँच बढाउने योजना अघि सारेको छ ।