
काठमाडौं । बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता तथा समग्र विकास सुनिश्चित गर्ने उद्देश्यले टोखा नगरपालिका वडा नं. ४ र ६ लाई संयुक्त रूपमा बालमैत्री वडा घोषणा गरिएको छ । टोखा नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो भने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई तथा नगर प्रवक्ता बच्चुराम बस्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सम्बन्धित वडाका अध्यक्षहरु तथा सदस्यहरू, कर्मचारीहरु, अभिभावकहरु र बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकीले बालबालिकामा गरिएको लगानीले राष्ट्रको भविष्य सुनिश्चित हुने बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालअधिकार संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बालमैत्री वडा घोषणा केवल औपचारिकता नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने प्रतिबद्धता भएको बताउनुभयो । उहाँले बालबालिकाको सहभागिता सुनिश्चित गर्दै उनीहरूको प्रतिभा, नेतृत्व क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा नगरपालिका निरन्तर लागिपर्ने धारणा व्यक्त गर्नुभयो ।
टोखा नगरपालिका वडा नं. ६ की वडा अध्यक्ष शान्ता पौडेलले बालमैत्री वडा निर्माण केवल घोषणा मात्र नभई आगामी पुस्ताप्रतिको दायित्व र प्रतिबद्धता भएको बताउँदै बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी, टोखा नगरपालिका वडा नं. ४ का अध्यक्ष धर्वेन्द्र श्रेष्ठले बालमैत्री वडा निर्माणका लागि समुदाय, विद्यालय, अभिभावक तथा स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरण प्रदान गर्न वडा कार्यालय सदैव प्रतिबद्ध रहने उल्लेख गर्नुभयो ।
टोखा नगरपालिका वडा नं. ४ का नगर बाल सञ्जाल अध्यक्ष धिरेन्द्र बुढाले बालमैत्री वडा घोषणा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै विशेष रूपमा वडा नं. ४ का वडा अध्यक्ष धर्वेन्द्र श्रेष्ठ तथा वडा नं. ६ की वडा अध्यक्ष शान्ता पौडेलप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बालबालिकाको क्षमता विकास, सहभागिता र नेतृत्व प्रवर्द्धनमा जनप्रतिनिधिहरूले देखाएको प्रतिबद्धता प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बालमैत्री समाज निर्माणका लागि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।
टोखा नगरपालिका वडा नं. ६ का नगर बाल सञ्जाल कोषाध्यक्ष प्रत्युश बन्जाडेले बालबालिकाको सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्दै बालमैत्री समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको आवाजलाई सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो।
टोखा नगरपालिका वडा नं. ४ र ६ को यो पहललाई आगामी पुस्ताको उज्ज्वल भविष्य निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै सबै सरोकारवालाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
