काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । बैंकले यही जेठ २९ गते जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते दुहुँ गाउँपालिकामा शिविर आयोजना गरेको हो ।
शिविरमार्फत कुल ७११ जनाले निःशुल्क आँखा परीक्षण, परामर्श, औषधि तथा चश्मा सेवा प्राप्त गरेका छन् । जिल्ला अस्पताल खलङ्गामा ३८७ जना तथा दुहुँ गाउँपालिकामा ३२४ जनालाई सेवा प्रदान गरिएको बैंकले जनाएको छ ।
गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको विशेषज्ञ टोलीले शिविरमा सेवा दिएको थियो । आँखा परीक्षणका क्रममा मोतियाबिन्दुको शल्यक्रिया आवश्यक देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था समेत बैंकले मिलाउने जनाएको छ ।
शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।




