काठमाडौं । विद्यार्थीलाई विश्वस्तरीय शिक्षा, भाषा दक्षता र आत्मविश्वासी भविष्यतर्फ अग्रसर गराउने उद्देश्यसहित एञ्जल हार्ट माध्यमिक विद्यालयले ‘केम्ब्रिज इंग्लिस सर्टिफिकेट सेरेमोनी २०२६’ (Cambridge English Certification Ceremony 2026) भव्य रूपमा सम्पन्न गरेको छ । केम्ब्रिज इंग्लिस परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको सम्मान गरिएको हो ।
कार्यक्रमले प्रमाणपत्र वितरणमा मात्र सीमित नभई विद्यार्थीहरूको निरन्तर सिकाइ, सीप विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक क्षमता अभिवृद्धिप्रति विद्यालयको प्रतिबद्धतालाई पनि उजागर गरेको थियो । विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरूको उत्साहजनक उपस्थितिले समारोहलाई थप गरिमामय बनाएको थियो ।
समारोहलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर पुनले शिक्षाको महत्त्वमाथि प्रकाश पारे । उनले भने,
“जति बाँड्दा पनि नघट्ने र झन् बढ्दै जाने धन भनेकै विद्या हो ।”
अध्यक्ष पुनले शिक्षा नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै आजको विश्वव्यापी प्रतिस्पर्धाको युगमा अंग्रेजी भाषा र गुणस्तरीय शिक्षाले विद्यार्थीका लागि अनगिन्ती अवसरका ढोका खोल्ने बताए । उनले प्राप्त प्रमाणपत्रलाई अन्तिम गन्तव्य नभई अझ उत्कृष्ट यात्राको सुरुआतका रूपमा लिन विद्यार्थीहरूलाई आग्रह समेत गरे ।
त्यस्तै, विद्यालयका प्रिन्सिपल धन बहादुर पुनले एञ्जल हार्टले सुरुदेखि नै विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षण गर्दै आएको बताए । उनका अनुसार विद्यालयले पाठ्यपुस्तकको ज्ञानसँगै प्रभावकारी सञ्चार क्षमता, नेतृत्व विकास, सिर्जनशील सोच, नैतिक मूल्य र व्यवहारिक सीपमा समान प्राथमिकता दिँदै आएको छ ।
प्रिन्सिपल पुनले भने,
“केम्ब्रिज इंग्लिस कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आत्मविश्वासका साथ आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने आधार तयार गरेको छ ।”
उनले आधुनिक शिक्षण विधि, दक्ष शिक्षक, प्रविधिमैत्री सिकाइ वातावरण र विद्यार्थीमैत्री शैक्षिक अभ्यासमार्फत एञ्जल हार्टले गुणस्तरीय शिक्षाको नयाँ मानक स्थापित गर्दै आएको उल्लेख गरे । आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई ज्ञान, सीप र चरित्रले सम्पन्न सक्षम नागरिकका रूपमा तयार पार्ने विद्यालयको प्रतिबद्धता रहेको उनको भनाइ थियो ।
प्रमाणपत्र वितरणसँगै विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति र सिर्जनात्मक कार्यक्रमले समारोहलाई थप मनोरञ्जक र आकर्षक बनाएको थियो । टोखा–३, काठमाडौंमा रहेको एञ्जल हार्ट माध्यमिक विद्यालय गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय मापदण्डअनुकूल सिकाइ र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणप्रति दृढ प्रतिबद्ध रहँदै आएको छ
