काठमाडौं । कृषि तथा वन विश्वविद्यालय (AFU) को उपकुलपतिमा प्रा.डा. ऋषिराम कट्टेलको नियुक्तिलाई कृषि तथा वन विज्ञान क्षेत्रका लागि आशाको नयाँ अध्यायका रूपमा हेरिएको छ । शैक्षिक नेतृत्व, अनुसन्धान, विश्वविद्यालय व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमा लामो अनुभव बटुलेका उनी अब देशकै एकमात्र कृषि तथा वन विज्ञानमा केन्द्रित प्राविधिक विश्वविद्यालयको नेतृत्वमा पुगेका छन् ।
लमजुङको राइनास नगरपालिका वडा ३ मा प्रेमप्रसाद कट्टेल र सूर्यकुमारी कट्टेलको सुपुत्रका रूपमा जन्मिएका प्रा.डा. कट्टेल बाल्यकालदेखि नै मेहनती, अनुशासित र अध्ययनप्रति समर्पित थिए । सामान्य परिवेशबाट सुरु भएको उनको यात्रा निरन्तरको मिहिनेत, लगन र ज्ञानप्रतिको प्रतिबद्धताले आज देशको प्रतिष्ठित विश्वविद्यालयको नेतृत्वसम्म पुगेको छ ।
कृषि तथा वन विज्ञानमा उच्च शिक्षा हासिल गरेका उनले युरोपबाट थप अध्ययन पूरा गरेका छन् । त्यसपछि अध्यापन, अनुसन्धान, शैक्षिक नेतृत्व तथा विश्वविद्यालय व्यवस्थापनमा उल्लेखनीय योगदान दिएका छन् । उनी डोरेक्स (DOREX) का निर्देशकका रूपमा समेत कार्यरत रहँदा अनुसन्धान, विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी रूपमा अघि बढाएका थिए । कृषि तथा वन विज्ञानसँग सम्बन्धित अनुसन्धान र परियोजनाहरूलाई व्यवहारमा उतार्न उनले खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
४५ वर्षको उमेरमै उपकुलपति नियुक्त भएका प्रा.डा. कट्टेल कृषि तथा वन विश्वविद्यालयको इतिहासमै सबैभन्दा कम उमेरमा यो जिम्मेवारी सम्हाल्ने व्यक्ति बनेका छन् । यसपटक नियुक्त भएका सात विश्वविद्यालयका उपकुलपतिमध्ये पनि उनी सबैभन्दा युवा हुन् । यो उपलब्धिले उनको क्षमता, नेतृत्व र शैक्षिक योगदानप्रति राज्यले गरेको विश्वासलाई प्रतिबिम्बित गरेको छ ।
सहकर्मी, विद्यार्थी र अनुसन्धानकर्तामाझ उनी सरल, इमानदार, अनुसन्धानमुखी र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् । ज्ञानलाई व्यवहारसँग जोड्ने, अनुसन्धानलाई समाज र किसानसम्म पुर्याउने तथा विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने उनको सोचलाई धेरैले प्रशंसा गर्ने गरेका छन् ।
उनको नेतृत्वमा कृषि तथा वन विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन, आधुनिक कृषि प्रविधि, वन व्यवस्थापन, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा कृषिमा उद्यमशीलताको विकासमा थप गति लिने विश्वास गरिएको छ । विश्वविद्यालयलाई केवल शैक्षिक संस्थामा सीमित नराखी राष्ट्रको कृषि रूपान्तरणको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा पनि बढेको छ ।
प्रा.डा. कट्टेलको नियुक्ति एउटा व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली कृषि तथा वन विज्ञान क्षेत्रका लागि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ सम्भावनाको सुरुवातका रूपमा हेरिएको छ । अब उनको नेतृत्वले विश्वविद्यालयलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्याउने र कृषि तथा वन विज्ञानमार्फत राष्ट्रको समृद्धिमा थप योगदान दिने आशा गरिएको छ ।

