काठमाडौं । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय काठमाडौं र रैथाने संरक्षण नेपालको आयोजनामा तथा होटल एसोसिएसन नेपालको समन्वयमा होटल व्यवसायीका लागि आतिथ्य व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । तालिम मंगलबार काठमाडौंस्थित होटल रामायणमा आयोजना गरिएको थियो ।
होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन, होटल सञ्चालन सम्बन्धी कानुनी व्यवस्था तथा होटलमा रैथाने कृषि उत्पादन, परिकार, सीप र प्रविधिको महत्वबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले बिरुवामा पानी सिँचेर गरेका थिए । उद्घाटन कार्यक्रममा उनले नेपालको पर्यटन विकासका लागि स्थानीय उत्पादन, मौलिक खानाका परिकार र गुणस्तरीय आतिथ्य सेवाको प्रवर्द्धन आवश्यक रहेको बताए ।
साथै, पर्यटन कार्यालयले सञ्चालन गर्दै आएका सेवा र कार्यक्रमबारे पनि सहभागीलाई जानकारी गराए। तालिममा नाथमका प्रशिक्षक बिनोद अर्यालले आतिथ्य व्यवस्थापनका विषयमा, रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले होटल व्यवसायमा रैथाने कृषि उत्पादन, परिकार, सीप र प्रविधिको महत्वका विषयमा तथा घनेन्द्र श्रेष्ठले होटल सञ्चालनसम्बन्धी कानुनी प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संस्थाका उपाध्यक्ष डा. आलोकबाबु प्रसाईंले गरेका थिए भने सञ्चालन संस्थाका सचिव ध्रुवराज पौडेलले गरेका थिए । समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष मानबीर मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले तालिममा सहभागी सबैलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गरे ।
समापन सत्रका अध्यक्ष धनप्रसाद राईले प्रमुख अतिथि, प्रशिक्षक तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनोस्वरूप मुस्ताङको उवाको सातु, कर्णालीको मिठे फापरको पिठो र कागुनोलगायत रैथाने कृषि उपज प्रदान गरे । तालिममा ६० भन्दा बढी होटल सञ्चालक तथा कर्मचारीको सहभागिता रहेको थियो ।
आयोजकले यस्ता तालिमले होटल क्षेत्रमा रैथाने कृषि उत्पादनको प्रयोग बढाउन, स्थानीय किसानलाई बजारसँग जोड्न तथा नेपालको मौलिक खाना, संस्कृति र पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

