काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली (बिलिङ सिस्टम) खरिद तथा ठेक्कापट्टा प्रकरणमा भ्रष्टाचार नभएको ठहर गर्दै सबै आरोपितलाई सफाइ दिएको छ ।
अदालतले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी लगायतविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिने फैसला गरेको हो ।
उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले प्रमाणका आधारमा भ्रष्टाचार पुष्टि नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो ।

