काठमाडौं । नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय गाडी ईमास ५ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबार एक कार्यक्रमबीच दुई भेरियन्टमा उपलब्ध हुने ईमास ५ सार्वजनिक गरेको हो ।
कम्पनीले ईमास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा बजारमा ल्याएको छ । दुवै भेरियन्टको बाह्य डिजाइन, इन्टेरियर तथा आधारभूत फिचर समान भए पनि ब्याट्री क्षमता, मोटरको शक्ति, रेन्ज र चार्जिङ क्षमतामा फरक रहेको कम्पनीले जनाएको छ ।
प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । यसमा ५८ किलोवाट क्षमताको मोटर रहेको छ भने ६.६ किलोवाट एसी तथा ५३ किलोवाट डीसी चार्जिङ सपोर्ट उपलब्ध छ । यो भेरियन्टले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति ४.४ सेकेन्डमा लिन सक्छ ।
यस्तै, प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट–घण्टा ब्याट्री र ८५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । ७१ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट रहेको यो भेरियन्टको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म करिब २०–२१ मिनेटमै चार्ज गर्न सकिन्छ । यसले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमा हासिल गर्ने क्षमता राख्छ ।
आकारका हिसाबले ईमास ५ को लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर, उचाइ १,५८० मिलिमिटर तथा ह्विलबेस २,६५० मिलिमिटर रहेको छ । रियर–ह्विल–ड्राइभ प्रणालीमा आधारित यो गाडीले उत्कृष्ट ह्यान्डलिङ र सन्तुलित ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
फिचरतर्फ १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ३७५ लिटर बुट स्पेस तथा पछाडिको सिट फोल्ड गर्दा १,३२० लिटरसम्म सामान राख्न मिल्ने सुविधा रहेको छ । साथै अगाडिपट्टि ७० लिटर क्षमताको अतिरिक्त फ्रंक स्टोरेज पनि उपलब्ध गराइएको छ । कम्पनीले पहिलोपटक विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै प्राइम भेरियन्ट र बढी रेन्ज तथा उच्च कार्यसम्पादन चाहने ग्राहकका लागि प्रिमियम भेरियन्ट ल्याएको छ ।
नेपाली बजारमा प्रोटोन ईमास ५ प्राइमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतिस्पर्धी मूल्य, आधुनिक प्रविधि र आकर्षक फिचरका कारण ईमास ५ ले नेपाली विद्युतीय सवारीसाधन बजारमा बलियो प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

