काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) संस्थापक (प्रमोटर) र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (आइजिन) दिने प्रस्तावित व्यवस्था लागू नगर्ने तयारीमा पुगेको छ ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले करिब एक वर्षअघि ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ मार्फत प्रमोटर र साधारण सेयरलाई फरक–फरक आइजिन दिने व्यवस्था प्रस्ताव गरेको थियो । तर उक्त निर्देशिका हालसम्म बोर्डबाट स्वीकृत हुन सकेको छैन ।
धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले दोहोरो आईजीन अन्तर्राष्ट्रिय अभ्यासअनुसार नभएको भन्दै यसलाई कार्यान्वयन नगर्ने संकेत दिएका छन् । उनका अनुसार, आइजिन धितोपत्रको अन्तर्राष्ट्रिय पहिचान प्रणाली भएकाले यसमा विश्वव्यापी मापदण्ड पालना गर्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय अभ्यासभन्दा बाहिर गएर छुट्टै व्यवस्था लागू गर्न उपयुक्त हुँदैन।
उनले सिडिएससीले पठाएका पुराना कार्यविधि र प्रस्तावहरू अध्ययन भइरहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखाने व्यवस्था स्वीकृत नहुने बताएका छन् ।
यससँगै दोहोरो आइजिनसम्बन्धी कार्यविधि स्वीकृत हुने सम्भावना कम देखिएको छ ।
हाल कम्पनीहरूको धितोपत्र अभौतिकीकरण तथा डिम्याट खातामा सेयर जम्मा गर्न आवश्यक आइजिन नम्बर सिडिएससीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँगको समन्वयमा जारी गर्दै आएको छ ।

