काठमाडौं । नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन भ्रमणमा गएको छ । परराष्ट्र मन्त्रालय र ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजित चारदिने भ्रमणले नेपाली वस्तुको बजारीकरण, व्यापार विस्तार तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बीटुबि) प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले गरेका छन् । टोलीमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, नेपाल ह्यान्डमेड पेपर एसोसिएसनका अध्यक्ष किरणकुमार डंगोल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ, महासंघका सल्लाहकार स्वयम्भुरत्न तुलाधर, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोजकुमार यादवसहित विभिन्न निर्यातमुखी उद्योग तथा वस्तुगत संघसंस्थाका १५ जना व्यवसायी सहभागी छन् ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ओमनस्थित नेपाली दूतावासमा व्यावसायिक अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम गर्नेछ । साथै ओमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग व्यापार सहकार्य, लगानी सम्भावना र व्यावसायिक साझेदारीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । ओमन इन्भेष्टमेन्ट अथोरिटीसँग लगानी तथा व्यापारिक सहकार्यका अवसरबारे बैठक पनि तय गरिएको छ।

टोलीले नेस्टो हाइपरमार्केट, लुलु हाइपरमार्केट र हाइपरम्याक्सका खरिद विभागसँग प्रत्यक्ष बीटुबि बैठक, उत्पादन प्रदर्शन र बजार अवलोकन गर्नेछ । ओमनमा रहेका नेपाली समुदाय तथा व्यवसायीहरूसँग निर्यात प्रवर्द्धन र लगानी विस्तारबारे अन्तरक्रिया पनि गरिने ओमनस्थित नेपाली दूतावासका प्रथम सचिव विशेषकुमार शाहले जानकारी दिए ।

अध्यक्ष घिमिरेले ओमन खाडी क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्र भएकाले नेपाली हस्तकला, हस्तनिर्मित कागज, चिया, कफी, मसला, डेरीजन्य उत्पादन, प्राकृतिक पेयपानी तथा मूल्य अभिवृद्धि भएका अन्य उत्पादनको बजार विस्तारका लागि यो भ्रमण महत्वपूर्ण सुरुआत हुने विश्वास व्यक्त गरे ।

नेपाल र ओमनबीच कूटनीतिक सम्बन्ध लामो समयदेखि कायम भए पनि द्विपक्षीय व्यापार अपेक्षाकृत न्यून रहेको छ । ओमनमार्फत संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, बहराइन र कुवेतलगायत खाडी मुलुकमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने सम्भावना रहेको छ ।