काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउन ‘दोस्रो बजार सुधार योजना कार्यान्वयन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य र बोर्डको पुँजी बजार नीतिमा समावेश सुधार कार्यक्रमलाई कार्यान्वयनमा लैजान समितिको गठन गरिएको बोर्डले जनाएको छ ।
बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरिएको समितिमा बोर्डका तीन प्रतिनिधि रहेका छन् । साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एशोसियशन अफ नेपालबाट एक–एक जना प्रतिनिधि सदस्यका रूपमा सहभागी छन् ।
समितिलाई मार्जिन लेण्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ जस्ता आधुनिक कारोबार प्रणाली सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव दिने जिम्मेवारी दिइएको छ । साथै यी सेवाको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने तथा बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित निकायसँग सहकार्य गर्ने कार्य पनि समितिको कार्यादेशमा समावेश छ ।
बोर्डले दोस्रो बजार सुधार कार्यक्रमलाई चार चरणमा अघि बढाउने नीति लिएको छ । पहिलो चरणमा मार्जिन लेण्डिङ, दोस्रोमा इन्ट्राडे कारोबार, तेस्रोमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङ लागू गरिनेछ ।
समितिले मार्जिन लेण्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरु गरिसकेको बोर्डले जनाएको छ । यी सुधार कार्यक्रम कार्यान्वयन भएपछि नेपाली पुँजी बजार थप चलायमान, पारदर्शी र परिपक्व बन्ने अपेक्षा गरिएको छ ।
