नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताएका छन् ।
५ महिनापछि हङकङबाट फर्किएका देउवाले निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’
यस क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाले । “पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ,” देउवाले भने, “शाही आयोगले पनि जेलमा पठाएको हो । अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले केही छैन भन्यो । यो देशमा जनता, अदालत छ । हामीले देखाउँछौँ । राजा ज्ञानेन्द्रले सकेनन् अरुले सक्छ यहाँ ?”
उनले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको बताउँदै भने, “नेपाली जनता मालिक हुन् । जनताले जे भन्यो त्यही हुन्छ । अदालतप्रति मलाई पूरा विश्वास छ ।”

