काठमाडाैं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर कांग्रेस लुटेर लगेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडाैंमा सुरु भएकाे इतर समूहको राष्ट्रिय भेलामा बोल्दै खड्काले भने – ‘हिजो निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर कांग्रेस लुटेर गएकै हो । यो अपराध हो । यो अपराध क्षम्य हुँदैन । अहिले सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरा पार्टी सभापतिले भनिसक्नुभएको छ,’ खड्काले भने ।
उनले विशेष अधिवेशनबाट आएको कांग्रेस सच्चा कांग्रेस भएको भए वर्षौंदेखि निर्वाचित नेताहरूलाई टिकटबाट बञ्चित गर्ने दुस्साहस गर्न नसक्ने जिकिर गरे ।
‘चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन । चोइटिएको कारण भनिरहनु र स्मरण गरिरहनु पर्दैन । सच्चा कांग्रेस भएको भए सँधै चुनाव जितिरहने नेतागणलाई टिकट नदिइने दुस्साहस गरिने थिएन । सच्चा कांग्रेस भएको भए घरमा आगो लगाइदिएर रगताम्मे र मरणासन्न हुनेगरी कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो । त्यस्तो अपराध गरिने थिएन । के यो अपराध क्षम्य हुन्छ ?,’ उनले भने ।
देउवा स्वदेश फर्किदा विमानस्थल र राष्ट्रिय भेलाकाे उपस्थितिले विशेष महाधिवेशनबाट आएको कांग्रेसलाई झापड दिएको खड्काको भनाइ छ।

