काठमाडौं ( ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता ९एआई० र सूचना प्रविधिको क्रान्तिलाई सही तथा सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै संसार परिवर्तन भइरहेको उल्लेख गर्दै नयाँ परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्ने बताए।
मन्त्री श्रेष्ठले पछिल्लो समय विशेषगरी १६ देखि २७ वर्ष उमेर समूहका युवामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको बताए। यस्तो समस्या समाधानका लागि युवासँग खुला संवाद गर्ने वातावरण निर्माण गर्नुका साथै उनीहरूलाई रचनात्मक तथा सिर्जनात्मक गतिविधिमा संलग्न गराउनुपर्ने उनको भनाइ थियो।
उनले एआई र सूचना प्रविधिले शिक्षा, रोजगारी, सिर्जनशीलता तथा दैनिक जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै यसको प्रयोग ज्ञान, सीप र सकारात्मक सोचको विकासमा गर्नुपर्ने धारणा राखे।
युवाको मानसिक स्वास्थ्य र समग्र विकासका लागि परिवार, विद्यालय तथा राज्यका निकायबीच सहकार्य आवश्यक रहेको उनले बताए।
आफू युवा मन्त्री रहँदासमेत युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले युवाको क्षमता, सीप र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्ने बताए।
उनले बदलिँदो विश्व परिवेशमा युवालाई प्रविधिमैत्री, सिर्जनशील र जिम्मेवार बनाउन शिक्षा प्रणाली तथा सामाजिक वातावरणले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

