काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार भदौ १ गते उपत्यकामा अहिलेसम्मकै उच्च परिमाणमा ग्यास बिक्री भएको हो ।
निगमका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर एलपी ग्यास बिक्री वितरण भएको छ । उपत्यकाबाहेक देशका अन्य जिल्लामा थप ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री भएको निगमले जनाएको छ ।
पछिल्ला दिनको तुलनामा सोमबार ग्यासको आपूर्ति र बिक्री दुवै बढेको निगमको तथ्यांकले देखाएको छ । विशेषगरी काठमाडौं उपत्यकामा एकैदिन यति ठूलो परिमाणमा ग्यास बिक्री हुनु आपूर्ति व्यवस्थामा सुधार आएको संकेतका रूपमा लिइएको छ ।
नेपाल आयल निगमका निर्देशक विनीतमणि उपाध्यायका अनुसार बजारमा देखिएको ग्यास अभावसमेत पछिल्ला दिनमा क्रमशः सहज हुँदै गएको छ । आपूर्ति तथा वितरण प्रणालीमा सुधार हुँदै गएकाले उपभोक्ताले भोग्दै आएको अभाव थप कम हुने अपेक्षा गरिएको उनले बताए ।
निगमले बजारको मागअनुसार ग्यासको आपूर्ति तथा वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ । आपूर्ति सहज बन्दै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः अन्त्य हुने निगमको विश्वास छ ।

