✍️नारायण ज्ञावली, अध्यक्ष (सामुदायिक विद्युत उपभाेक्ता राष्ट्रिय महासंघ)
कुनै पनि संस्थाको वास्तविक शक्ति भवन, बजेट वा प्रविधि होइन, त्यसलाई निर्माण गर्ने मानिसहरूको श्रम, त्याग र समर्पण हो । नेपालको विकासको इतिहास लेख्ने हो भने विद्युत क्षेत्रलाई अलग गरेर हेर्न सकिँदैन । आज घर–घरमा बल्ने बत्ती, उद्योगमा घुम्ने मेसिन, अस्पतालका उपकरण, विद्यालयका कम्प्युटर, सिँचाइका पम्प, विद्युतीय सवारीसाधन र सूचना–प्रविधिको विस्तार , विद्युतीय चुल्हो सबैको आधार विद्युत हो । त्यसैले विद्युत केवल एउटा सेवा होइन, राष्ट्र निर्माणको मेरुदण्ड हो ।
नेपालमा विद्युत विकासको यात्रा एक शताब्दीभन्दा लामो छ । फर्पिङ जलविद्युत आयोजनाबाट सुरु भएको यो यात्रा अनेक उतारचढाव पार गर्दै विद्युत विकास कर्पोरेशन, विद्युत विकास विभाग हुँदै नेपाल विद्युत प्राधिकरणसम्म आइपुगेको छ । यो इतिहास कुनै एक संस्था वा एक नेतृत्वको इतिहास होइन; यो हजारौं कर्मचारी, इन्जिनियर, प्राविधिक, श्रमिक, नीति निर्माता, स्थानीय समुदाय र करोडौं नेपालीको साझा इतिहास हो ।
१. प्रारम्भदेखि संस्थागत विकाससम्म नेपालमा जलविद्युत उत्पादनको प्रारम्भले आधुनिक नेपालको विकासको आधार तयार गर्यो। समयसँगै विद्युतको माग बढ्दै गयो । उत्पादन, प्रसारण र वितरणलाई एउटै संस्थागत संरचनाबाट व्यवस्थित गर्नुपर्ने आवश्यकता महसुस भयो। यही सोचका आधारमा विभिन्न निकायको अनुभवलाई समेट्दै नेपाल विद्युत प्राधिकरण स्थापना भयो । प्राधिकरणको स्थापना केवल प्रशासनिक परिवर्तन थिएन । यसले नेपालको ऊर्जा क्षेत्रलाई एउटै राष्ट्रिय दृष्टिकोणमा अगाडि बढाउने ऐतिहासिक आधार निर्माण गर्यो । त्यसयता देशभर विद्युत उत्पादन, प्रसारण लाइन, सबस्टेशन, ग्रामीण विद्युतीकरण, वितरण प्रणाली तथा सेवा विस्तारमा उल्लेखनीय प्रगति भएको छ । आज नेपाल विद्युत प्राधिकरण देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थामध्ये एक बनेको छ । हजारौं कर्मचारी, सयौं कार्यालय, उत्पादन केन्द्र, सबस्टेशन, प्रसारण लाइन र वितरण सञ्जालमार्फत यसले प्रतिदिन करोडौं नेपालीको जीवनलाई उज्यालो बनाइरहेको छ ।
२. उज्यालो नेपाल बनाउने हजारौं अदृश्य हात हामीले घरमा स्विच थिचेर बत्ती बाल्दा त्यो उज्यालो सहज लाग्न सक्छ । तर त्यस उज्यालोको पछाडि हजारौं मानिसको पसिना मिसिएको छ।हिउँदको कठ्याङ्ग्रिने चिसो होस् वा वर्षाको भीषण झरी, आँधीबेहरी होस् वा बाढीपहिरो, विद्युत सेवा अवरुद्ध हुँदा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने लाइनम्यान नै हुन्छन् । उच्च भोल्टेजका तारबीच काम गर्ने उनीहरूको प्रत्येक दिन जोखिमले भरिएको हुन्छ । नेपाल विद्युत प्राधिकरणको इतिहासमा विद्युत संरचना निर्माण, मर्मत तथा सञ्चालनका क्रममा धेरै कर्मचारीले आफ्नो अमूल्य जीवन गुमाएका छन्। धेरै घाइते भएका छन् । कतिपय परिवारले आफ्ना अभिभावक गुमाएका छन् । ती त्यागहरूलाई केवल दुर्घटनाको तथ्यांकका रूपमा होइन, राष्ट्र निर्माणका अमूल्य योगदानका रूपमा सम्झिनुपर्छ । आजको पुस्ताले सुरक्षित रूपमा प्रयोग गरिरहेको विद्युत सेवाको आधार यिनै अदृश्य नायकहरूको समर्पण हो ।
३. संस्थाको सफलता सबैको साझा योगदान संस्थालाई सफल बनाउने श्रेय कुनै एक व्यक्तिलाई मात्र दिन मिल्दैन । कार्यकारी निर्देशकले नीति बनाउँछन् व्यवस्थापनले योजना तयार गर्छ, इन्जिनियरले डिजाइन गर्छन्, प्राविधिकले कार्यान्वयन गर्छन्, लाइनम्यानले सेवा निरन्तर राख्छन्, प्रशासनले प्रणाली सञ्चालन गर्छ, लेखा शाखाले आर्थिक अनुशासन कायम गर्छ, कार्यालय सहयोगीले दैनिक कार्यलाई सहज बनाउँछन् । यीमध्ये एउटा कडी कमजोर भयो भने सम्पूर्ण प्रणाली प्रभावित हुन्छ । त्यसैले “ठूला पदमा बसेकाले मात्र संस्था बनाएका हुन्” भन्ने सोच परिवर्तन हुनुपर्छ। संस्थाको विकास प्रत्येक कर्मचारीको इमानदारी, अनुशासन, दक्षता र समर्पणबाट सम्भव भएको हो । नेतृत्वको महत्व अवश्य हुन्छ । तर नेतृत्व सफल तब हुन्छ जब सम्पूर्ण कार्यगत समूहले त्यसलाई व्यवहारमा उतार्छ ।
४. इतिहासले सामुदायिक विद्युतीकरणलाई कहिल्यै बिर्सनु हुँदैन नेपालको ग्रामीण विद्युतीकरणको इतिहासमा सामुदायिक विद्युतीकरण अभियान एउटा स्वर्णिम अध्याय हो। नेपालका धेरै दुर्गम गाउँमा विद्युत पुर्याउन स्थानीय समुदायले श्रमदान गरे, आर्थिक लगानी गरे, जग्गा उपलब्ध गराए र वितरण प्रणाली सञ्चालनमा समेत जिम्मेवारी लिए । सामुदायिक विद्युतीकरण कार्यक्रमले लाखौं ग्रामीण नागरिकलाई विद्युत पहुँचमा ल्याउन ऐतिहासिक योगदान पुर्याएको छ । सयौं सामुदायिक संस्थाहरूले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्दै उज्यालो नेपालको अभियानलाई गति दिएका छन्। नेपाल विद्युत प्राधिकरण आर्थिक र प्राविधिक चुनौतीको अवस्थामा रहेको समयमा पनि सामुदायिक संस्थाहरूले वितरण प्रणाली विस्तार, महसुल संकलन, चुहावट नियन्त्रण तथा उपभोक्तामैत्री सेवामा महत्वपूर्ण भूमिका खेलेका थिए।त्यसैले नेपाल विद्युत प्राधिकरणको इतिहास लेख्दा सामुदायिक विद्युतीकरण अभियानलाई सम्मानपूर्वक समावेश गर्नु न्यायोचित मात्र होइन, ऐतिहासिक आवश्यकता पनि हो ।
५. योगदानको सम्मान किन आवश्यक छ ?
कुनै पनि संस्थामा योगदानको मूल्यांकन भएन भने समर्पण र सेवा भाव घट्दै जान्छ। सेवानिवृत्त कर्मचारीको अनुभव, पूर्व नेतृत्वको दृष्टिकोण र पुराना पुस्ताको संघर्षलाई सम्मान गर्ने संस्कृतिले नयाँ पुस्तालाई प्रेरणा दिन्छ । जुन संस्थाले आफ्ना पूर्वजलाई सम्मान गर्छ, त्यो संस्था भविष्यमा पनि बलियो बन्छ । तर जुन संस्थाले इतिहास बिर्सन्छ, उसले भविष्य निर्माण गर्ने आधार पनि कमजोर बनाउँछ । नेपाल विद्युत प्राधिकरणले आफ्ना पूर्व कर्मचारी, दुर्घटनामा ज्यान गुमाएका कर्मचारी, उल्लेखनीय योगदान दिने प्राविधिक तथा व्यवस्थापकहरूको जीवनी, अनुभव र उपलब्धिलाई व्यवस्थित अभिलेखका रूपमा सुरक्षित गर्नुपर्छ ।
६. अब भविष्यतर्फ नेपाल आज ऊर्जा क्षेत्रमा नयाँ युगमा प्रवेश गरिरहेको छ । जलविद्युत उत्पादन बढिरहेको छ ।अन्तरदेशीय विद्युत व्यापार विस्तार भइरहेको छ। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । विद्युतीय खाना पकाउने अभियान अगाडि बढिरहेको छ । उद्योगहरू विद्युततर्फ आकर्षित हुँदैछन्।अबको चुनौती केवल विद्युत उत्पादन होइन, विश्वसनीय, गुणस्तरीय, सुलभ र दिगो ऊर्जा सेवा प्रदान गर्नु हो । यसका लागि नेपाल विद्युत प्राधिकरणले प्रणाली सुधार, स्मार्ट ग्रिड, डिजिटल प्रविधि, ऊर्जा भण्डारण, वितरण स्वचालन, साइबर सुरक्षा, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी बढाउनुपर्नेछ साथै, समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै स्थानीय सहभागितालाई संस्थागत रूपमा प्रोत्साहन गर्नुपर्छ ।
७. हाम्रो साझा जिम्मेवारी नेपाल विद्युत प्राधिकरण सरकारको मात्र संस्था होइन । यो प्रत्येक नेपालीको संस्था हो। यसको संरक्षण, सुदृढीकरण र विकासमा सरकार, कर्मचारी, निजी क्षेत्र, समुदाय, उपभोक्ता, सञ्चारमाध्यम र नागरिक समाज सबैको साझा जिम्मेवारी छ । संस्थाभित्र सकारात्मक सोच, सुशासन, पारदर्शिता, उत्तरदायित्व र योगदानको सम्मान गर्ने संस्कृतिलाई बलियो बनाउन सके नेपाल विद्युत प्राधिकरण विश्वसनीय सार्वजनिक संस्थाको उत्कृष्ट उदाहरण बन्न सक्छ । नेपाल विद्युत प्राधिकरणको गौरवशाली इतिहास हजारौं व्यक्तिको पसिना, त्याग, इमानदारी र समर्पणले लेखिएको इतिहास हो । कसैले नीति बनाए, कसैले आयोजना निर्माण गरे, कसैले पोल बोके, कसैले तार ताने, कसैले रातभरि मर्मत गरे, कसैले आफ्नो जीवन नै राष्ट्रका लागि अर्पण गरे ।
यी सबै योगदानको योगफल नै आजको नेपाल विद्युत प्राधिकरण हो । त्यसैले अब हामीले व्यक्तिको होइन, योगदानको सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ। इतिहासलाई निष्पक्ष रूपमा लेख्नुपर्छ । योगदान दिने कसैलाई पनि ओझेलमा पार्नु हुँदैन । जुन दिन हामीले पदभन्दा योगदानलाई ठूलो मान्ने संस्कार विकास गर्छौं, त्यही दिन संस्था अझ बलियो बन्छ, कर्मचारी अझ प्रेरित हुन्छन् र राष्ट्रले अझ उज्यालो भविष्य प्राप्त गर्छ । नेपाल विद्युत प्राधिकरणले विगतको गौरव, वर्तमानको जिम्मेवारी र भविष्यको दूरदृष्टिलाई आत्मसात् गर्दै जनविश्वासको आदर्श सार्वजनिक संस्थाका रूपमा निरन्तर उन्नति गरोस् भन्ने कामना मात्र होईन गर्नु पर्छ भन्ने दृढता पनि हो ।

