काठमाडौं । भारत सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन तीन वटा बेलिब्रिज नेपाललाई सहयोग गरेको छ।
बाढीका कारण दुवै जिल्लाका विभिन्न स्थानमा रहेका पक्की पुलमा क्षति पुगेपछि अवरुद्ध सडक यातायात सहज बनाउन भारतले प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (बेलिब्रिज) उपलब्ध गराएको हो। शनिबार सडक डिभिजन कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गरे।
भारतीय दूतावासका प्रतिनिधि सिंहका अनुसार भारत सरकारको सहयोगमा ७० मिटर बराबरका तीन वटा बेलिब्रिज उपलब्ध गराइएको हो। विपद्का कारण क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन आवश्यकताअनुसार ती बेलिब्रिज प्रयोग गरिने बताइएको छ।
भारत सरकारले यसअघि पनि नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा सडक पूर्वाधार पुनः सञ्चालनका लागि बेलिब्रिज सहयोग गर्दै आएको छ। २०८२ मंसिरमा भारतले सडक डिभिजन कार्यालय हेटौंडामार्फत काभ्रे, रामेछाप र सिन्धुलीका बाढीपहिरो प्रभावित क्षेत्रमा सडक सञ्जाल जोड्न करिब ३८ करोड रुपैयाँ मूल्य बराबरका १० वटा बेलिब्रिज उपलब्ध गराएको थियो।
बेलिब्रिज हस्तान्तरण कार्यक्रममा मकवानपुर–१ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो संख्यामा पुल तथा सडक संरचनामा क्षति पुगेको उल्लेख गर्दै थप बेलिब्रिज उपलब्ध गराउन भारत सरकारसँग आग्रह गरे।
गत १० भदौमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुगेको थियो। सडक विभागका अनुसार रसुवादेखि चितवनसम्मको सडकखण्डमा मात्रै ४१ वटा मोटरेबल पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण यातायात प्रभावित भएपछि तत्काल आवागमन सुचारु गर्न बेलिब्रिज जडानलाई प्राथमिकतामा राखिएको छ। भारतबाट प्राप्त तीन बेलिब्रिजले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सडक पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

