काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थितिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको चौथो त्रैमासमा भने घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखतपारित अन्तर्गतको कारोबार संख्या पनि १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या १५.४५ प्रतिशतले बढेको थियो ।
गत आवमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँबराबरको थियो ।
घरजग्गा कारोबारबाट सरकारको राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो ।
त्यस्तै, घरजग्गा कारोबारबाट संकलित पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर २९.९८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा पनि बढेको छ । आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतभन्दा बढीले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बागमतीमा सबैभन्दा बढी वृद्धि
प्रदेशगत रूपमा हेर्दा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको कारोबार संख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ । यसविपरीत मधेश प्रदेशमा यस्तो कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या बढेको राष्ट्र बैंकले जनाएको छ ।


