काठमाडौं। सामाजिक सञ्जाल र डिजिटल माध्यमको दायरा फराकिलो बन्दै जाँदा त्यसले निम्त्याउने जोखिमप्रति नयाँ पुस्तालाई सचेत गराउन तार्केश्वरको जीपुरफेदी माध्यमिक विद्यालयमा साइबर सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
लाइभ नेपाल नेटवर्क र नेपाल टेलिकमको सहकार्यमा आयोजित कार्यक्रममा बालाजु प्रहरी वृत्तका प्रहरी निरीक्षक विनोद तामाङले विद्यार्थीहरूलाई अनलाइन ठगी, नक्कली खाता, र साइबर बुलिङबाट कसरी सुरक्षित रहने भन्नेबारे सजग गराउनुभयो। उहाँले अपरिचित व्यक्तिलाई ओटीपी (OTP) र पासवर्ड नदिन तथा शंकास्पद गतिविधि भएमा तत्काल प्रहरीमा खबर गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा तार्केश्वर–३ का वडा अध्यक्ष पशुराम अर्यालले प्रविधिलाई अभिशाप होइन, वरदानका रूपमा प्रयोग गर्न डिजिटल अनुशासन अपनाउनुपर्नेमा जोड दिनुभयो। विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्याल र सह–प्रधानाध्यापक मधु अर्यालले प्रविधिसँगै सुरक्षाको ज्ञान दिनु आजको आवश्यकता भएको बताउनुभयो।
सोही क्रममा नेपाल टेलिकमका तर्फबाट सहभागी अधिकारीहरूले जिम्मेवार डिजिटल नागरिक बन्न प्रेरित गर्दै सहभागीहरूलाई निःशुल्क सिम कार्ड प्रदान गर्नुभयो। लाइभ नेपाल नेटवर्कका अध्यक्ष पुष्करराज पाण्डेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र समुदायस्तरमा यस्ता सचेतनामूलक अभियान निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको सहज सञ्चालन सावित्री बस्नेतले गर्नुभएको थियो।

