काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ । २०७२ सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणका विषयमा स्थानीय बिच फरक मत भएपछि काम हुन सकेको थिएन । असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुनःनिर्माणका लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले, जग पूजा र शिलान्यास गर्नुभयो ।
त्यस क्रममा उहाँले, ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । ‘यी संरचना काठमाडौँका पहिचान स्मारक हुन् ।’ पुनःनिर्माण सुरु हुनु नै हाम्रा लागि पहिलो सफलता हो । वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘भत्किएका सम्पदा बनाउँछौँ भन्दा पनि काम गर्न पाइएको थिएन । सत्तल पुनःनिर्माणपछि वडाको प्रशासनिक सेवा पनि यहीँबाट प्रवाह गर्नेछौँ ।’ शिलान्याससम्मको चरमा ल्याउनु नै ठुलो कुरा बन्यो । वडा सचिव सर्वज्ञराज पौडेलले भन्नुभयो, ‘काम थालनी भएको छ । अब निर्धारित समयमा निर्माण सम्पन्न गराउनेमा हाम्रो ध्यान हुनेछ ।’
यसको निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म हो । आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सत्तलको चौडाइ १८ फिटको हुनेछ । सत्तल मौलिक स्वरुप २ तलाको हुनेछ । लम्बाइ दक्षिणतर्फ १४८ फिट र पश्चिमतर्फ १४७ फिटको हुनेछ । हरेक तला ३ हजार ८८१ वर्गफिटका हुनेछन् । श्री ५ सुवर्णप्रभा महारानीले साके संवत् १७३० मा निर्माण गराएको सत्तल वि. सं. १९९० र २०२८ सालमा जीर्णोद्धार भएको थियो । २०७२ सालको भूकम्पले भत्किएपछि पुनःनिर्माण गराउने क्रममा स्थानीयबासीका बिचमा भएको मतान्तरका कारण रोकिएको थियो ।
सत्तल पुनःनिर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ८ करोड १६ लाख ९१ हजार ७२३ रुपियाँमा निर्माण कम्पनी आर.आर. – आर. जी. एस.सँग सम्झौता भएको छ । २०३६ सालमा काठमाडौँ नगर पञ्चायतले बनाएको अभिलेख अनुसार यो सत्तल चारै दिशामा समान रूपले फैलिएको थियो । सत्तलको बिच प्राङ्गणमा एक मन्दिर पनि रहेको छ । सत्तलको दक्षिणतर्फको भागमा नन्दी रात्री विद्यालयले कक्षा सञ्चालन गर्न प्रयोग गरेको छ । त्यस बेला घरबारविहीनहरु सत्तलमा आश्रय लिएर बसेका थिए ।
अभिलेखमा भनिएको थियो, ‘काष्ठकला र प्रस्तरकलाले समृद्ध सत्तल संरक्षणको अभावमा ठाउँ ठाउँको काष्ठकला सहितको काठहरू मक्किएर खेर गैराखेकोले यथाशीघ्र यसतर्फ ध्यान पु¥याउनु आवश्यक देखिन्छ । जस्ता र झिँगटीको मिश्रित छाना भएको यस सत्तलको जस्ता प्वाल परेर र झिंगटी फुटेर पानी चुहिने गरेकोले त्यसको प्रतिकुल असर गारोमा परेको छ ।’ यसबाट भन्न सकिन्छ, सत्तल त्यसबेलामा नै तत्काल मर्मत गर्नु पर्ने अवस्थामा थियो ।
अभिलेखमा ‘सत्तलको पूर्वमा चार तथा दुई धारा, पश्चिममा खाली ठाउँ तथा बाटो, उत्तर र दक्षिण दुवैतर्फ सडक गएको छ ।’ भन्ने उल्लेख छ ।
