काठमाडौं । इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण केशम टापुमा भएका शृंखलाबद्ध विस्फोटमा अमेरिकी सेनाको संलग्नता रहेको खुलासा भएको छ। अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले गोप्य रूपमा आक्रमण गरेको जनाएको छ।
यसअघि केशम टापुमा पाँचवटा शक्तिशाली विस्फोट भएको खबर सार्वजनिक भएको थियो। स्थानीय बासिन्दाले विस्फोटका क्रममा दुईवटा विमान आकाशमा उडिरहेको देखेको बताएका थिए।
त्यस्तै, स्ट्रेट अफ हर्मुज नजिकैको बन्दर लेंगेह क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएका थिए। प्रत्यक्षदर्शीले समुद्री क्षेत्रबाट विस्फोट भएको बताएका थिए।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले पछिल्ला केही सातादेखि इरानमाथि सीमित सैन्य कारबाही गोप्य रूपमा सञ्चालन गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सहमतिको सम्भावना व्यक्त गरिरहेका बेला पनि यस्ता आक्रमण जारी रहेको समाचारमा उल्लेख छ।
ट्रम्पले मंगलबार हुने मध्यावधि निर्वाचनपछि इरानसँग पुनः युद्ध सुरु हुने सम्भावनालाई कम महत्त्व दिएका थिए। तर, अमेरिकी प्रशासनले मध्यपूर्वमा तैनाथ आफ्ना सेनामाथिका सुरक्षा चुनौतीलाई निरन्तर सम्बोधन गरिरहेको एक अमेरिकी अधिकारीले बताएका छन्।
अमेरिकी रक्षा मन्त्रालयले घटनाबारे सोधिएका प्रश्न अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) तर्फ पठाएको छ।
केशम टापु स्ट्रेट अफ हर्मुज नजिकै अवस्थित छ। विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुने यो समुद्री मार्गमा पछिल्लो समय अमेरिका र इरानबीचको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढाएको छ।
कूटनीतिक वार्ता र युद्धविरामको सम्भावनाबीच अमेरिकी सेनाले गोप्य रूपमा आक्रमण गरेको खुलासाले इरानसँग पुनः सैन्य टकराव बढ्न सक्ने आशंका थपिएको छ।

